टिप्पणी

कथित मेरिटोक्रेसी र सुशासनको धज्जी

बुधबार, ३१ असार २०८३, १२ : ३६

काठमाडौं - जेनजि आन्दोलनको जगमा बनेको युवाहरुको सरकारले ८० वर्ष हाराहारीका महेश्वरभक्त श्रेष्ठलाई नेपाल वायुसेवा निगमको अध्यक्ष तथा महाप्रबन्धक नियुक्त गरेको छ । यो नियुक्ति प्रचलितको कानुनको पनि विपरित रहेको छ । 

२०४९ सालमा तत्कालीन सरकारले ‘कुडाकर्कट सफाइ अभियान’ नाममा व्यापक कर्मचारी कटौती गर्दा वायुसेवा निगमबाट श्रेष्ठको पनि जागिर गएको थियो । त्यसबेला उनी निगमको कर्पोरेट डाइरेक्टर थिए ।

निगमबाट अवकाश पाएको ३४ वर्षपछि उनलाई सरकारले निगमको जिम्मेवारी पुन ः थमाइदिएको छ । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार पर्यटन मन्त्रालयको प्रस्तावमा श्रेष्ठलाई निगमको कार्यकारी भूमिका दिइएको हो ।

निगमको कार्यकारी अध्यक्ष तथा महाप्रबन्धकमा श्रेष्ठको नियुक्ति सरकारको कार्यविधि विपरीत समेत देखिएको छ । पर्यटन मन्त्रालय सम्बद्ध ‘सार्वजनिक निकायका सदस्य तथा पदाधिकारी नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड २०७३’ अनुसार कुनै निकायको कार्यकारी प्रमुख नियुक्त हुने व्यक्तिको उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्छ ।

‘वायुसेवा निगम ऐनमा सञ्चालक तथा कार्यकारी प्रमुखको नियुक्तिको उमेरका विषयमा उल्लेख छैन, त्यही अनुसार उहाँहरू सञ्चालक नियुक्त हुनुभयो तर अहिले निगममा महाप्रबन्धकको पद खालि भएकाले सञ्चालकमध्येबाट उहाँलाई कार्यकारी अध्यक्ष तथा महाप्रबन्धकको जिम्मेवारी दिने निर्णय मन्त्रिपरिषद्बाट भएको हो,’ निगमका प्रवक्तको दाबी रहेको छ । 

 मुलुकको नागरिक उड्डयन क्षेत्रमा श्रेष्ठको ५ दशक लामो अनुभव छ । वायुसेवा निगममा दुई दशकभन्दा बढी काम गरिसकेका उनी २०४९ सालमा सरकारले हटाउँदा १०औं तहका कर्पोरेट डाइरेक्टर थिए ।

अहिले वायुसेवा निगमको नियमित सेवामा उनी अवकाश पाएपछि प्रवेश गरेका कर्मचारी मात्रै कार्यरत छन् । किनभने, निगममा ३० वर्ष सेवा गरिसकेपछि वा ५८ वर्ष उमेर पुगेका कर्मचारी नियमित अवकाशमा जान्छन् । तर, श्रेष्ठले निगमबाट अवकाश पाएको नै ३४ वर्ष पुगिसकेको छ ।
एक जना व्यक्तिको नियुक्तिको बारेमा भन्दा पनि प्रश्न सरकारको कथित मेरिटोक्रेसी र सुशासनको बारेमा हो । अहिले सत्तामा गएकाहरुले पाको पुस्तालाई सरापेर कहिल्यै थाक्तैनन् । उनीहरु योग्यता र क्षमता भन्दा पनि उमेरलाई बढी महत्व दिइरहेका छन् । पुराना शासक र दलले देशलाई टाट पल्टाएको अहिलेका सत्ताधारीहरुको भाष्य रहेको छ । तर सरकारले हालै राजनीतिक नियुक्तिहरु आफ्नो दलका प्रशंसकहरुको मात्र छ । अघिल्लो सरकारले एउटा बिधि  र प्रक्रियाबाट नियुक्त गरेका पदाधिकारीहरुलाई हटाएर उनीहरुले झनै फितलो प्रक्रिया अपनाएर नियक्ति गरेका छन् । यसरी नियुक्त गरिएकाहरु रास्वपा समर्थकहरु मात्र रहेका छन् । नयाँ पुस्तालाई राज्य सञ्चालनको प्रक्रियामा सहभागी गराउने घोषणा केवल बकवास मात्र सावित भएको छ । वायुसेवा निगमा भएको श्रेष्ठको नियुक्तिले नै देखाउँछ उनीहरु आफ्नो निकटको भए ८० वर्षकोलाई पनि युवा नै देख्छन् । तसर्थ, अहिलेको सत्तामा पुगेको यो जमात हावादारी र राज्य सञ्चालनको कुनै कला तथा ज्ञान नभएको विचारबिहीन झुण्ढ जस्तो मात्र देखिन्छ । पक्कै पनि राजनीति एउटा विज्ञान हो । यसका आफ्नै मान्यता, नियम र प्रक्रियाहरु हुन्छन् । यो जो कोहीले पनि गर्न सकने कुरै होइन । सत्तामा गएपछि सिक्दैछौं भन्ने छुट हुँदैन । नजानेका मान्छेहरु सरकारमा जाने नै होइन । 
 

बुधबार, ३१ असार २०८३, १२ : ३६

प्रतिक्रिया