होर्मुजमा २०% शुल्क लगाउने धम्कीबाट पछि हटे ट्रम्प

बुधबार, ३१ असार २०८३, १२ : ५३

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प होर्मुज जलमार्गमा कार्गो पानीजहाजहरूमाथि २०% शुल्क लगाउने धम्कीबाट पछि हटेका छन्।

जलमार्गको नियन्त्रणका लागि अमेरिकाले इरानमाथि आक्रमण जारी राखेको छ।

दुई पक्षबीच पुनः आक्रमण र प्रत्याक्रमण हुन थालेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढेको छ भने जलमार्ग भएर ट्याङ्कर जहाजहरूको आवतजावत लगभग ठप्प छ।

अमेरिकी आक्रमण निरन्तर

अमेरिकी सेनाको सेन्ट्रल कमान्डले मङ्गलवार अबेर उसका फौजले ‘व्यापारिक जहाजहरूमाथि आक्रमण गर्न सक्ने इरानी क्षमता ध्वस्त पार्न ताजा चरणका प्रहारहरू गरेको’जनाएको छ।

यसअघि सेन्टकमले लगातार तेस्रो रात आक्रमण गरेको भनेको थियो। इरानी सरकारी सञ्चारमाध्यमहरूले ती आक्रमण कैयौँ सहरहरूमा भएको र तीमध्ये इरानको पारमाणविक ऊर्जाकेन्द्र रहेको बुशेहर सहर पनि रहेको जनाएका छन्।

तेहरानले चाहिँ बाहरेन र जोर्डनस्थित अमेरिकी सैन्य केन्द्रहरूलाई निसाना बनाएको बताएको छ। यसअघि उसले यूएईका दुईवटा ट्याङ्करहरूमाथि आक्रमण गरेको थियो।

जारी द्वन्द्वले उक्त जलमार्गको रणनीतिक महत्त्व थप उजागर भएको छ।

इरानले होर्मुजको व्यवस्थापनमा अमेरिकाले हस्तक्षेप गरेको आरोप लगाएको छ। तर उक्त जलमार्गको नियन्त्रण गर्दा तेहरानले विश्व अर्थतन्त्रमाथि पनि खतरा पुर्‍याउन सक्छ।

‘होर्मुजको रक्षक’

सोमवार ट्रम्पले अमेरिका होर्मुज जलमार्गको रक्षक रहेको भन्दै त्यसको सुरक्षित प्रयोग गरेबापत सबै कार्गो जहाजसँग २०% शुल्क उठाउने बताएका थिए।

साथै उनले इरानमाथि सामुद्रिक नाकाबन्दी लगाउने चेतावनी पनि दिएका थिए।

आफ्नो पछिल्लो पोस्टमा उनले ट्रूथ सोशलमा लेखेका छन् ‘२०५ शुल्कलाई मैले विभिन्न खाडी देशहरूले अमेरिकासँग गर्ने व्यापार तथा लगानीका सम्झौताहरूले विस्थापन गर्ने निर्णय लिएको छु।’

त्यस्ता लगानी निकै ठूला हुने र ती देशको भविष्यका लागि असाधारण रूपमा राम्रा हुने पनि उनले बताएका छन्।

अहिले जलमार्ग इरानबाहेक अरू सबैका लागि खुला रहेको पनि उनले भनेका छन्।

वाशिङ्टनमा इराकका नयाँ प्रधानमन्त्री अलि अल(जाइदीसँगको भेटपछि ट्रम्पले भने, ‘मलाई शुल्क लिने अवधारणा मन त पर्दैन तर समग्र विश्वका लागि हामीले मात्र जलमार्ग रक्षा गरिदिनु न्यायोचित पनि होइन।’

खाडीका कैयौँ नेताहरूले आफूलाई फोन गरेपछि आफूले शुल्क लिने योजना परिवर्तन गरेको उनले बताए।

ट्रम्पको भनाइपछि इरानले होर्मुज जलमार्ग आफ्नै नियन्त्रणमा रहेको बताएको छ।

इरानका उपविदेशमन्त्रीले ट्रम्पले नाकाबन्दी लगाउने भनेपछि अघिल्लो युद्धविराम सम्झौता ‘एक किसिमले भङ्ग भएको’ बताएका छन्।

यसअघि एप्रिलमा अमेरिकाले तेहरानमाथि सामुद्रिक नाकाबन्दी लगाएको थियो। पछि जुन महिनामा समझदारी भएपछि उक्त नाकाबन्दी हटाइएको थियो।

यसबीच पानीजहाजको आवतजावतसम्बन्धी ताजा आँकडामा सो जलमार्गमा भएका आवतजावत दुई महिनायताकै सबभन्दा न्यूनबिन्दुमा झरेको देखिएको छ।

ब्रेन्ट कच्चा तेलको मूल्य पनि ह्वात्तै बढेको छ। इरानले बन्द गरिदिएको जलमार्ग भएर विश्वको एकचौथाइ तेल अनि २०% खाना पकाउने ग्यासको ढुवानी हुने गर्छ।

यसबीच राष्ट्रपति ट्रम्पले तेहरान वार्ताको टेबुलमा आएन भने आगामी साता अमेरिकाले इरानका ऊर्जाकेन्द्र तथा पुलहरू ध्वस्त पारिदिने धम्की दिएका छन्।

बीबीसी न्यूज नेपाली 

बुधबार, ३१ असार २०८३, १२ : ५३

प्रतिक्रिया