काठमाडौं- नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपालप्रसाद भट्टले पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागू गरिने बताएका छन्।
बुधबार प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको बैठकमा उनले बजार बढ्दा मात्र नभई घट्दा पनि लगानीकर्ताले प्रतिफल लिन सक्ने व्यवस्था गर्न सर्ट सेलिङ प्रणाली ल्याउन लागिएको जानकारी दिए।
उनका अनुसार यो व्यवस्था लागू भएपछि लगानीकर्ताले सेयर सापटी लिएर बिक्री गर्न, पछि मूल्य घटेपछि सोही सेयर किनेर फिर्ता गरी मूल्य अन्तरबाट नाफा लिन सक्नेछन्। बजार बढ्ने अपेक्षा गर्ने लगानीकर्ताले भने हालकै जस्तै सेयर खरिद–बिक्रीबाट प्रतिफल लिन सक्नेछन्।
अध्यक्ष भट्टले धितोपत्र बोर्डको भूमिका बजारको दिशा निर्धारण गर्नु नभई निष्पक्ष र समान अवसरयुक्त बजार सुनिश्चित गर्नु रहेको स्पष्ट पार्दै अफवाह नियन्त्रणका लागि पनि आवश्यक नीतिगत व्यवस्था ल्याइने बताए। साथै, बोर्डले हालै ‘नेपालको पुँजीबजार विकास मार्गचित्र, २०८३’ र आर्थिक वर्ष २०८३/८४ को पुँजीबजार नीति सार्वजनिक गरेको जानकारी दिए।
प्रतिक्रिया