सन सेक्युरिटिजले सञ्चालन गर्दै निःशुल्क १० दिने अनलाइन शेयर तालिम

बुधबार, ३१ असार २०८३, १३ : ४७

काठमाडौं- वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले सन सेक्युरिटिज प्रालिले १० दिने निःशुल्क अनलाइन शेयर तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले काठमाडौं बाहिर तथा नेपाल बाहिर बसेर विभिन्न पेशा तथा व्यवसायमा आबद्ध लगानीकर्तालाई लक्षित गरी तालिम आयोजना गर्न लागेको जनाएको छ ।

२०८३ असार ३१ गतेदेखि सञ्चालन हुने तालिम गुगल मिटमार्फत प्रत्येक दिन साँझ ७ः३० बजेदेखि ९ः०० बजेसम्म सञ्चालन हुनेछ ।

तालिममा शेयर बजारको आधारभूत विश्लेषण, संस्थागत लगानीकर्ता तथा फण्ड म्यानेजरहरूले शेयर छनोट गर्ने विधि, लिभरेज (मार्जिन कारोबार) को प्रयोग तथा जोखिम व्यवस्थापन, नेपालमा उपलब्ध वित्तीय लगानीका साधन, भ्यालु इन्भेष्टिङ र मल्टिब्यागर शेयर पहिचान गर्ने तरिका, लगानीमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग तथा क्यान्डल, चार्ट, ट्रेन्ड र विभिन्न इन्डिकेटरसहितको प्राविधिक विश्लेषणलगायतका विषय समेटिनेछन् ।

यस्तै, वर्तमान बजार परिस्थितिमा लगानीकर्ताले अपनाउनुपर्ने रणनीतिबारे अम्बिका पौडेल, छोटेलाल रौनियार, अस्तित्व शर्मा र सौगात पन्तको सहभागितामा प्यानल छलफल पनि हुने कार्यक्रम रहेको कम्पनीले जनाएको छ ।

तालिम कार्यक्रमको संयोजन विवेक अधिकारी र दीपकराज पन्तले गर्नेछन् । कम्पनीका अनुसार यो तालिमले नयाँ तथा अनुभवी दुवै प्रकारका लगानीकर्तालाई शेयर बजारबारे ज्ञान र सीप अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
 

बुधबार, ३१ असार २०८३, १३ : ४७

प्रतिक्रिया