काठमाडौं- युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३२औँ वार्षिक साधारण सभा काठमाडौंको भाटभटेनीस्थित अम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको छ।
सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू पारित गरेको कम्पनीले जनाएको छ। साथै, सञ्चालक समितिबाट प्रस्तुत सबै सामान्य तथा विशेष प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएका छन्।
साधारण सभाले आर्थिक वर्ष २०८१÷८२ सम्मको वितरणयोग्य मुनाफाबाट हालको चुक्ता पुँजी २ अर्ब ३१ करोड रुपैयाँको ४.२८५७ प्रतिशतका दरले ९ करोड ९० लाख रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२२५६ प्रतिशतका दरले ५२ लाख १० हजार ५२६ रुपैयाँ ३२ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि स्वीकृत भएको छ।
कम्पनीका अनुसार सम्बन्धित नियामक निकायबाट स्वीकृति प्राप्त भएपछि बोनस शेयर जारी गरिनेछ। त्यसपछि कम्पनीको जारी तथा चुक्ता पुँजी २ अर्ब ६४ करोड रुपैयाँ पुग्नेछ।
यस्तै, २०८३ साल जेठ मसान्तसम्म कम्पनीले प्रधान कार्यालय, प्रादेशिक कार्यालय, शाखा–उपशाखा तथा तेस्रोपक्ष बीमा काउण्टरसहित कुल १०४ स्थानबाट बीमा सेवा प्रदान गरिरहेको जनाएको छ।
कम्पनीले आगामी आर्थिक वर्ष २०८३/८४ मा व्यवसाय विस्तार गर्दै शेयरधनीलाई अपेक्षित प्रतिफल उपलब्ध गराउने तथा निर्धारित लक्ष्य हासिल गर्न प्रतिबद्ध रहेको जनाएको छ।
प्रतिक्रिया