अमेरिकासँगको वार्तामा इरानका प्रमुख वार्ताकार रहँदै आएका उच्च अधिकारीले आफ्नो देशको राष्ट्रिय सुरक्षा होर्मुज जलमार्गको नियन्त्रणमा निर्भर रहेको बताएका छन्।
इरानका सभामुख समेत रहेका मोहम्मद बगेर गलिबाफले उनको देश अमेरिकासँग अस्तित्वको लडाइँ लडिरहेको बताएका छन्।
वार्ता र लडाइँ दुवै नै आफ्नो प्रतिवादको रणनीतिअन्तर्गत रहेको उनले बताए।
अमेरिकी आक्रमण
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले तेहरानलाई सुध्रिन चेतावनी दिएकै बेला अमेरिकी सेनाले इरानविरुद्ध बुधवार ताजा आक्रमण गरिएको जनाएको छ।
अमेरिकी सेनाका अनुसार ‘होर्मुज जलमार्ग हुँदै आवतजावत गर्ने जहाजहरूमाथि खतरा उत्पन्न गर्न सक्ने इरानी सैन्य क्षमतालाई निसाना’ गरिएको हो। इरानी सरकारी सञ्चारमाध्यमका अनुसार राजधानी तेहरानमा पनि हवाई प्रतिरक्षा प्रणाली सक्रिय भएको आवाज सुनिएको थियो।
इरानी सञ्चारमाध्यमले अहवाज नगरमा रहेको बालबालिकाको क्यान्सर अस्पतालनजिकै कैयौँ क्षेप्यास्त्र प्रहार गरिएको विवरण दिएका छन्।
अमेरिकी आक्रमणका कारण अस्पताल खाली गराउन परेको जनाइएको छ।
इरानका बन्दरगाह लक्षित सामुद्रिक नाकाबन्दी उल्लङ्घनको प्रयास गरेको भन्दै उसले एक जहाजमाथि प्रहार गरेको पनि बताएको छ।
इरानले पनि बाहरेन तथा कुवेतमा रहेका अमेरिकी सैन्य स्थलहरूमा प्रहार गरेको जनाएको छ।
इरानका वार्ताकार गलिबाफले यदि समझदारीले इरानलाई फाइदा नहुने हो भने त्यसको पालना गरिरहनुको कुनै कारण नरहने बताएका छन्।
पुनः सुरु भएको द्वन्द्वको पाँचौँ दिन पुग्दा युद्ध अन्त्य गर्ने दुई पक्षबीच भएको प्रारम्भिक सम्झौता सङ्कटमा परेको छ।
ट्रम्पले किन गरे तेहरानको प्रशंसा
फरक प्रसङ्गमा इरानले एक इरानी-अमेरिकी परोपकारकर्मीलाई देशबाट बाहिरिन दिएकोमा राष्ट्रपति ट्रम्पले तेहरानको प्रशंसा गरेका छन्।
गत १८ महिनादेखि इरानमै रोकिएको देना केरारीलाई देश छाड्न अनुमति दिइएको थियो।
बुधवार पत्रकारहरूले ट्रम्पलाई उनले इरानका ऊर्जाकेन्द्र तथा पुलहरूमा आगामी साता आक्रमण गर्ने भनेर गरेको टिप्पणीबारे सोधेका थिए।
त्यसको निम्ति उनको मनमा कुनै समयसीमा छ भनेर सोध्दा ट्रम्पले भनेः ‘मलाई समयसीमा तोक्न मन पर्दैन। तर उनीहरूलाई थाहा छ‘उनीहरू सुध्रिऊन्।’
अहिले इरान खुसी नभएको तथा अमेरिकी कारबाहीका कारण चाँडै नै समझदारी गर्न खोजिरहेको उनले बताए।
‘अब हेरौँ हामीले उनीहरूसँग सम्झौता गर्ने छौँ वा सब सिध्याइदिने छौँ।’
यो साताको सुरुमा ट्रम्पले अमेरिका होर्मुज जलमार्गको रक्षक रहेको भन्दै त्यसको सुरक्षित प्रयोग गरेबापत सबै कार्गो जहाजसँग २०% शुल्क उठाउने धम्की दिएका थिए। तर लगत्तै उनी त्यस योजनाबाट पछि हटे।
त्यसको साटो उनले अन्य विकल्प रोज्ने बताए। ‘२०५ शुल्कलाई मैले विभिन्न खाडी देशहरूले अमेरिकासँग गर्ने व्यापार तथा लगानीका सम्झौताहरूले विस्थापन गर्ने निर्णय लिएको छु।’
जुन १७ मा अमेरिका र इरानबीच समझदारीपत्रमा हस्ताक्षर भएयताकै सबभन्दा खराब आक्रमण(प्रत्याक्रमणका घटनाहरू अहिले भइरहेका छन्।
त्यतिबेला अमेरिका र इरानबीच भएको समझदारीमा १४ बुँदा थिए जसमा ६०- दिने अवधिको युद्धविरामका बेला वार्ता जारी रहने अनि होर्मुज जलमार्गमा सुरक्षित आवतजावत कायम हुने तथा इरानविरुद्ध अमेरिकी प्रतिबन्धहरू हटाइने विषय रहेका थिए।
उक्त अवधि नसकिँदै दुई पक्षले भिडन्त गर्न थालेका छन्।
जारी द्वन्द्वले वैश्विक अर्थतन्त्रका लागि होर्मुज जलमार्गको रणनीतिक महत्त्व थप उजागर भएको छ। जलमार्ग अवरुद्ध हुनासाथ तेलको भाउ बढ्न थालेको छ।
बीबीसी न्यूज नेपाली
प्रतिक्रिया