अपडेट

चालु आर्थिक वर्षको अन्तिम दिन नेप्से बढ्यो, १२१ कम्पनीको सेयर मूल्य बढ्दा परिसूचक २५ सय ९७ बिन्दुमा

विहीबार, ३२ असार २०८३, १५ : २६

काठमाडौं- चालु आर्थिक वर्षको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। दिनभर उतारचढावमा रहेको बजार कारोबारको अन्तिम समयमा सुधारिएपछि नेप्से ७.५० अंक (०.२८ प्रतिशत) ले बढेर २ हजार ५९७.८० बिन्दु मा पुगेको हो।

पछिल्ला दुई कारोबार दिनदेखि देखिएको सुधारको लय बिहीबार पनि कायम रह्यो। कारोबार सुरु भएपछि केही समय बजार सकारात्मक रहे पनि त्यसपछि अधिकांश समय दबाबमा देखिएको थियो। तर, प्रधानमन्त्री वालेन्द्र शाह र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलबीच सेयर बजार, बैंकिङ तथा वित्तीय क्षेत्रका विषयमा छलफल भएको समाचार सार्वजनिक भएपछि अन्तिम समयमा बजार सकारात्मक बनेको देखिएको हो।

बिहीबार ३७१ कम्पनी तथा धितोपत्र को ३९ हजार ५९५ पटक कारोबार हुँदा ९४ लाख ६९ हजार ९९ कित्ता सेयर किनबेच भएको छ। कुल कारोबार रकम ४ अर्ब ५६ करोड २९ लाख ५० हजार ७०० रुपैयाँ पुगेको छ।

कारोबार भएका कम्पनीमध्ये १२१ कम्पनीको सेयर मूल्य बढेको, १५१ कम्पनीको घटेको तथा ३ कम्पनीको मूल्य स्थिर रहेको छ।

नेप्सेका १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूह घटेका छन्। म्युचुअल फन्ड उपसमूह सबैभन्दा धेरै १.६६ प्रतिशत ले बढेको छ। लघुवित्त र निर्जीवन बीमा उपसमूह पनि १ प्रतिशतभन्दा बढीले उकालो लागेका छन्। वित्त, होटल तथा पर्यटन, जलविद्युत् तथा उत्पादन एवं प्रशोधन उपसमूह भने सामान्य ओरालो लागेका छन्।

बिहीबार एनआईबिएल ग्रोथ फन्ड को इकाइ मूल्य १४.९६ प्रतिशत ले बढेर सबैभन्दा धेरै लाभ दिने धितोपत्र बनेको छ। त्यसपछि फर्स्ट माइक्रोफाइनान्स लघुवित्त को सेयर मूल्य १४.६७ प्रतिशत र चिरख्वा हाइड्रोपावर को १४.३४ प्रतिशत ले बढेको छ। यता कर्पोरेट डेभलपमेन्ट बैंक को सेयर मूल्य ८.७७ प्रतिशत ले घट्दै सबैभन्दा धेरै गुमाउने कम्पनी बनेको छ।

कारोबार रकमका आधारमा सिंगटी हाइड्रो इनर्जी शीर्ष स्थानमा रहँदै २४ करोड ७४ लाख रुपैयाँभन्दा बढी को कारोबार भएको छ। त्यस्तै ८.५ प्रतिशत सानिमा डिबेञ्चर २०८७ को २३ करोड रुपैयाँभन्दा बढी र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट को २२ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

यसैबीच प्रधानमन्त्री वालेन्द्र शाह र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलबीच बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको छ। भेटमा मुलुकको सेयर बजार, बैंकिङ तथा वित्तीय क्षेत्रको अवस्था, पूँजी बजारको विकास, बैंकिङ प्रणालीको स्थायित्व तथा समग्र अर्थतन्त्रसँग सम्बन्धित समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बजार विश्लेषकहरूले प्रधानमन्त्री र गभर्नरबीच भएको छलफललाई तरलता व्यवस्थापन, ब्याजदर, कर्जा विस्तार तथा पूँजी बजार सुधारसम्बन्धी नीतिगत समन्वयको संकेत का रूपमा हेरेका छन्।

विहीबार, ३२ असार २०८३, १५ : २६

प्रतिक्रिया