काठमाडौं– हाम्रो पात्रोअन्तर्गत सञ्चालित डिजिटल वालेट हाम्रो पे र ग्लोबल क्रिएटरमार्केटिङ प्लेटफर्म भिल बीच संस्थागत सहकार्य भएको छ । नेपाल र भारतमा औपचारिक रूपमा सेवा सुरु गरेको भिलले नेपालमा आफ्ना क्रिएटरहरूलाई भुक्तानी उपलब्ध गराउन हाम्रो पेलाई आधिकारिक पेमेन्ट पार्टनरका रूपमा चयन गरेको हो ।
यस सहकार्यसँगै भिल प्लेटफर्ममा आबद्ध नेपाली डिजिटल क्रिएटरहरूले आफ्नो व्यावसायिक कमाइ सुरक्षित, छिटो र सहज रूपमा हाम्रो पेमार्फत प्राप्त गर्न सक्नेछन्। यसले क्रिएटरहरूलाई भुक्तानी प्राप्त गर्ने क्रममा देखिने अनावश्यक झन्झट, लामो प्रक्रिया र प्राविधिक कठिनाइ कम गर्दै सरल डिजिटल अनुभव प्रदान गर्नेछ ।
नेपालमा डिजिटल कन्टेन्ट निर्माण, ब्रान्ड सहकार्य र इन्फ्लुएन्सर मार्केटिङको क्षेत्र तीव्र रूपमा विस्तार भइरहेको छ । तर धेरै क्रिएटरका लागि आफ्नो कामको भुक्तानी समयमै, सुरक्षित र भरपर्दो रूपमा प्राप्त गर्नु अझै चुनौतीपूर्ण छ । हाम्रो पे र भिलबीचको संस्थागत सहकार्यले यही चुनौतीलाई सम्बोधन गर्दै नेपाली क्रिएटरहरूलाई आफ्नो काम र आम्दानी थप व्यवस्थित रूपमा अगाडि बढाउन सहयोग गर्ने उद्देश्य राखेको छ ।
यस सहकार्यका विषयमा हाम्रो पात्रोकी अपरेसन्स डाइरेक्टर सुदिना गौतमले भन्नुभयोः “नेपालमा क्रिएटर इकोनोमी तीव्र रूपमा विस्तार भइरहेको छ । आफ्नो प्रतिभा, सिर्जनशीलता र मेहनतबाट आम्दानी गरिरहेका नेपाली क्रिएटरहरूलाई सुरक्षित, छिटो र सहज भुक्तानी सेवा उपलब्ध गराउनु हाम्रो लागि महत्त्वपूर्ण छ । भिलसँगको यो संस्थागत सहकार्यले क्रिएटरहरूलाई आफ्नो कमाइ प्राप्त गर्ने प्रक्रिया सरल बनाउनुका साथै नेपालको डिजिटल व्यवसाय र क्रिएटर इकोनोमीलाई थप व्यवस्थित, समावेशी र पहुँचयोग्य बनाउन सहयोग गर्नेछ ।”
हाम्रो पेको बारेमा
हाम्रो पे, नेपालको लोकप्रिय सुपर एप हाम्रो पात्रोअन्तर्गत सञ्चालित डिजिटल वालेट हो । यसले रकम स्थानान्तरण, मोबाइल रिचार्ज, बिल भुक्तानी तथा विभिन्न डिजिटल वित्तीय सेवाहरू सरल, सुरक्षित र भरपर्दो रूपमा उपलब्ध गराउँदै आएको छ । प्रविधिमार्फत दैनिक भुक्तानी अनुभवलाई सहज बनाउँदै व्यक्ति, व्यवसाय र डिजिटल समुदायलाई एउटै वित्तीय सञ्जालमा जोड्नु हाम्रो पेको उद्देश्य हो ।
भिलको बारेमा
भिल एक ग्लोबल एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म हो। यसले AI प्रविधिमार्फत क्रिएटर खोजी, क्याम्पेन व्यवस्थापन, कन्टेन्ट वर्कफ्लो, च्याट, एनालिटिक्स र पेमेन्टलगायतका सुविधाहरू एउटै प्लेटफर्ममा उपलब्ध गराउँदै आएको छ । कम्पनीका अनुसार हालसम्म विश्वका १२० भन्दा बढी देशका ४५० भन्दा धेरै ब्रान्ड र ५ लाख ५० हजारभन्दा बढी भेरिफाइड क्रिएटरहरू भिल प्लेटफर्ममा आबद्ध छन् ।
प्रतिक्रिया