सामाजिक अभियन्ता तुलसीराम पाण्डे एनआरएनए आईसीसी सदस्यमा मनोनीत

शुक्रबार, ०१ साउन २०८३, १४ : २०

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) ले एकता महाधिवेशनपछिको संगठनलाई पूर्णता दिने क्रममा अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) सहित विभिन्न पदाधिकारी, केन्द्रीय सदस्य र सल्लाहकारहरूको मनोनयन गरेको छ । संघको संशोधित विधानअनुसार ५१ सदस्यीय आईसीसी गठन गरिएको छ, जसअन्तर्गत कतारबाट सामाजिक अभियन्ता तुलसीराम पाण्डे र युवराज शर्मा आईसीसी सदस्यमा मनोनीत भएका छन् ।

कतारमा करिब दुई दशकदेखि नेपाली समुदायको हकहित, सामाजिक सेवा र मानवीय सहयोगमा निरन्तर सक्रिय रहँदै आएका पाण्डेको मनोनयनलाई प्रवासी नेपाली समुदायले सकारात्मक रूपमा लिएको छ । सामाजिक उत्तरदायित्वलाई व्यक्तिगत स्वार्थभन्दा माथि राखेर समुदायका लागि निरन्तर योगदान दिँदै आएका पाण्डे कतारमा परिचित सामाजिक अभियन्ताका रूपमा चिनिन्छन् ।

एनआरएनएमा सुरुदेखि नै सक्रिय रहेका पाण्डे केही समय संस्थागत गतिविधिबाट टाढिएका थिए । संस्था एकतापछि विभिन्न साथी, अग्रज तथा एनआरएनए अभियन्ताहरूको आग्रहलाई स्वीकार गर्दै आफू पुनः संस्थामा फर्किएको उनले बताएका छन् ।
“म संस्था, समाज र नेपालीका लागि केही गर्न फेरि फर्किएको हुँ । मेरो उद्देश्य पद ओगट्नु होइन, काम गर्नु हो,” पाण्डेले भने ।

उनका अनुसार एनआरएनए विश्वभर रहेका नेपालीहरूको साझा संस्था भएकाले यसलाई अझ एकताबद्ध, प्रभावकारी र परिणाममुखी बनाउँदै प्रवासी नेपालीका हितमा काम गर्नुपर्ने आवश्यकता छ ।
यसअघि एनआरएनए कतारको सल्लाहकारको जिम्मेवारीमा रहँदा पनि पाण्डेले संस्थागत सुधार, समुदायबीच सहकार्य अभिवृद्धि तथा सामाजिक अभियान सञ्चालनमा सक्रिय भूमिका निर्वाह गरेका थिए। समस्यामा परेका नेपालीलाई सहयोग, सामाजिक एकता र समुदायलाई जोड्ने विभिन्न अभियानमा उनको योगदान उल्लेखनीय मानिन्छ ।

संघको पछिल्लो निर्णयअनुसार आईसीसीमा महिला, दोस्रो पुस्ता, विज्ञ समूह तथा विभिन्न राष्ट्रिय समन्वय परिषद्बाट प्रतिनिधित्व सुनिश्चित गर्दै ५१ सदस्यीय परिषद्लाई पूर्णता दिइएको छ । पाण्डेको मनोनयनसँगै प्रवासी नेपालीको हकहित, एनआरएनएको संस्थागत सुदृढीकरण तथा नेपालसँगको सम्बन्धलाई अझ मजबुत बनाउन उनले प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
 

शुक्रबार, ०१ साउन २०८३, १४ : २०

प्रतिक्रिया