बाढी पहिरो

देशका २५ जिल्लाका नदीहरूमा आकस्मिक बाढीको जोखिम

शनिबार, ०२ साउन २०८३, ११ : २४

काठमाडौं- बाढी पूर्वानुमान महाशाखाले आज देशका विभिन्न २५ जिल्ला भई बहने स–साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको छ । 

महाशाखाले आज बिहान आठ बजे जारी गरेको बाढी पूर्वानुमान बुलेटिन अनुसार ताप्लेजुङ, सोलुखुम्बु, संखुवासभा, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौँ, भक्तपुर र ललितपुर क्षेत्रका साना नदीमा बहाव उल्लेख्य बढ्ने सम्भावना छ ।

यसैगरी मकवानपुर, चितवन, पाल्पा, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बाग्लुङ, म्याग्दी, मुस्ताङ, रुकुम पश्चिम, डोटी, बझाङ, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने स–साना नदीहरूमा पनि आकस्मिक बाढी अर्थात् ‘फ्ल्यास फ्लड’ को मध्यम जोखिम रहने महाशाखाको प्रक्षेपण छ ।

मुख्य र ठूला नदीहरूको अवस्था भने हाल सामान्य छ । आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली र महाकाली तथा यिनका सहायक नदीहरूको बहाव सतर्कता तह भन्दा तलै छ । यसका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव पनि सुरक्षित तहभित्रै रहेको बुलेटिनमा उल्लेख छ ।

महाशाखाले आगामी दुई दिनको पूर्वानुमान पनि सार्वजनिक गरेको छ। जस अनुसार भोलि र पर्सी कोशी, गण्डकी तथा सुदूरपश्चिम प्रदेश भई बहने केही स–साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने सम्भावना छ । ती क्षेत्रका तटीय बासिन्दालाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
 

शनिबार, ०२ साउन २०८३, ११ : २४

प्रतिक्रिया