काठमाडौं- काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा कार्यरत प्रहरी सहायक निरीक्षक ९एएसआई० विक्रम भुजेल २०८३ साल असार महिनाका लागि ‘बेस्ट पुलिस अफ द मन्थ’ सम्मानबाट सम्मानित भएका छन्।
अपराध अनुसन्धानमा देखाएको उत्कृष्ट कार्यसम्पादन, व्यावसायिक दक्षता र उल्लेखनीय योगदानको कदर गर्दै उनलाई उक्त सम्मान प्रदान गरिएको हो।
एएसआई भुजेल अपराध अनुसन्धानमा दक्ष, कर्तव्यनिष्ठ र परिणाममुखी प्रहरी अधिकृतका रूपमा परिचित छन्। उनले सूचना सङ्कलनदेखि जटिल प्रकृतिका आपराधिक घटनाको अनुसन्धानसम्म प्रभावकारी नेतृत्व र उच्च व्यावसायिक क्षमता प्रदर्शन गर्दै आएका छन्।
असार महिनाभर काठमाडौं उपत्यकामा गुण्डागर्दी नियन्त्रण, फरार प्रतिवादी पक्राउ, कर्तव्य ज्यान, चोरी, डाँका लगायतका गम्भीर प्रकृतिका अपराधको सफल अनुसन्धानमा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। साथै कारागारबाट फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन पनि उनको योगदान उल्लेखनीय रहेको कार्यालयले जनाएको छ।
उक्त कार्यसम्पादनको मूल्याङ्कन गर्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एएसआई भुजेललाई २०८३ साल असार महिनाको ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषणा गर्दै सम्मान गरेको हो।
प्रहरी संगठनमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रत्येक महिना प्रदान गरिने यस सम्मानले संगठनभित्र व्यावसायिकता, जिम्मेवारी र सेवाप्रतिको समर्पणलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ।
प्रतिक्रिया