नेपाल इन्जिनियर्स एसोसिएसनद्वारा ६४औँ इन्जिनियर्स दिवस भव्य रूपमा मनाइँदै

आइतबार, ०३ साउन २०८३, १४ : ३१

काठमाडौं- नेपाल इन्जिनियर्स एसोसिएसन ले “युवा मस्तिष्क र इन्जिनियरिङः समृद्ध नेपालको निर्माण” भन्ने मूल नाराका साथ विविध प्राविधिक तथा औपचारिक कार्यक्रम आयोजना गरी ६४औँ इन्जिनियर्स दिवस मनाउने भएको छ । 

भोलि श्रावण ३ गते (शनिबार) ग्वार्को स्थित रोयल टुलिप होटेलमा आयोजना कार्यक्रमको तयारी अन्तिम चरणमा रहेको नेपाल इञ्जिनियर्स एसोसिएसनका महासचिव बिनोद प्रकाश पण्डितले बताए । बिहान १०ः०० बजे देखि सुरु हुने कार्यक्रममा दिनभर विभिन्न विषयमा प्राविधिक सत्र सञ्चालन गरिनेछ भने दिउँसो ३ः०० बजेदेखि मुख्य समारोह आयोजना हुने एसोसिएसनले जनाएको छ । 

नेपाल इन्जिनियर्स एसोसिएसनले इन्जिनियरिङ पेशाको गरिमा अभिवृद्धि, युवा इन्जिनियरहरूलाई प्रेरित गर्दै समृद्ध नेपालको निर्माणमा इन्जिनियरहरूको भूमिका थप सशक्त बनाउने उद्देश्यका साथ यस वर्षको इन्जिनियर्स दिवस मनाउन लागेको जनाएको छ ।

बिहान १०ः३० बजे देखि “युवा मस्तिष्क र इन्जिनियरिङः समृद्ध नेपालको निर्माण” विषयमा प्रमुख प्राविधिक सत्र हुनेछ भने त्यस लगत्तै अन्य विभिन्न सत्रहरुको आयोजना हुनेछ । प्राविधिक सत्रहरूमा राष्ट्र निर्माणमा व्यावसायिक इन्जिनियरिङ संस्थाहरूको भूमिका, भवन संहिता, भू–प्राविधिक इन्जिनियरिङ, विपद् जोखिम न्यूनीकरण, परामर्श इन्जिनियरिङ, ऊर्जा सुरक्षा, पुल इन्जिनियरिङ तथा मूल्यांकन लगायत समसामयिक विषयमा विज्ञहरूबीच प्रस्तुति र छलफल हुने कार्यक्रम रहेको प्राविधिक सत्रका सदस्य सचिव ई. सन्जय कुमार साहले बताए । यी सत्रहरू नेपाल इन्जिनियरिङ परिषद् तथा विभिन्न पेशागत इन्जिनियरिङ संस्थासँगको सहकार्यमा सञ्चालन हुनेछन् । 

प्राविधिक सत्रहरु सम्पन्न भए पश्चात दिउसो ३ः०० बजे बाट मुख्य समारोह आयोजना हुनेछ । मुख्य समारोहमा राष्ट्रपतिज्यूको प्रमुख आतिथ्यता रहने आयोजकले जनाएको छ । ६४ औँ इञ्जिनियर्स दिवसको अवसर पारेर नेपाल इन्जिनियर्स एसोसिएसनले इन्जिनियरिङसहित विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने १० जना उत्कृष्ट इन्जिनियरहरुलाई पुरस्कृत गर्ने कार्यक्रम समेत रहेको छ । 

पुरस्कृत हुने इन्जिनियरहरुलाई राष्ट्रपतिले सम्मान पत्र तथा मेडल दिने आयोजकले जनाएको छ । ६४औँ इन्जिनियर्स दिवसको मुल समारोहलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री माननीय विराजभक्त श्रेष्ठ र राष्ट्रपति रामचन्द्र पौडेलले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

औपचारिक कार्यक्रमको समापन पछि विभिन्न ब्याण्ड को सांस्कृतिक प्रस्तुति रहनेछ ।
 

आइतबार, ०३ साउन २०८३, १४ : ३१

प्रतिक्रिया