काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले धितोपत्र तथा बीमा क्षेत्रका सरोकारवालासँग सोमबार छलफल गर्ने भएका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार, सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने छलफलका लागि धितोपत्र बजार, बीमा क्षेत्र तथा पूँजीबजारसँग सम्बन्धित विभिन्न निकायका पदाधिकारीलाई आमन्त्रण गरिएको छ।
छलफलमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एशोसिएशन अफ नेपालका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका सन्दीप जलान, नेप्सेका पूर्व प्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नवराज सिलवाल तथा नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वर लाल श्रेष्ठ सहभागी हुनेछन्।
यसैगरी, प्रिया राज रेग्मी र अम्बिका प्रसाद पौडेललाई पनि छलफलमा आमन्त्रण गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीले पूँजीबजार र बीमा क्षेत्रसँग सम्बन्धित समसामयिक विषय, सुधारका सम्भावित उपाय तथा लगानीकर्ताको विश्वास अभिवृद्धिसम्बन्धी विषयमा सरोकारवालाको धारणा लिने अपेक्षा गरिएको छ।
प्रतिक्रिया