ताजा समाचार

अपडेट

सरकारी सक्रियताले सेयरबजारमा हरियाली, ४१.७० अंकले बढ्यो नेप्से

सोमबार, ०४ साउन २०८३, १५ : १८

काठमाडौं- साताको दोस्रो कारोबार दिन सोमबार सेयरबजारमा उल्लेखनीय सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४१.७० अंकले बढेर २७१९.२४ विन्दुमा पुगेको छ।

सोमबार १ करोड २२ लाखभन्दा बढी कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ५ अर्ब ५१ करोड रुपैयाँ नाघेको नेप्सेले जनाएको छ। कारोबारमा सहभागी २७६ कम्पनीमध्ये २३९ कम्पनीको सेयर मूल्य बढेको छ भने ३२ कम्पनीको घटेको र ५ कम्पनीको मूल्य स्थिर रहेको छ।

आज एभरेस्ट कलर लिमिटेडको सेयर मूल्य १४.९७ प्रतिशत र रिजलाइन इनर्जी नेपालको १४.६४ प्रतिशतले बढ्दै सर्वाधिक कमाउने कम्पनी बनेका छन्। केही अन्य कम्पनीको सेयर पनि १० प्रतिशतभन्दा बढीले उकालो लागेको छ। यता, केही कम्पनीको सेयर मूल्य भने अधिकतम ६.८६ प्रतिशतसम्म घटेको छ।

कारोबार रकमका आधारमा आखुखोला जलविद्युत् कम्पनी अग्रस्थानमा रह्यो। कम्पनीको २९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। त्यसपछि रिलायन्स स्पिनिङ मिल्सको २४ करोड र रिडी पावर कम्पनीको २० करोड रुपैयाँ बराबरको कारोबार भएको छ। समूहगत सूचकमा सामूहिक लगानी कोष बाहेक सबै समूह हरियालीमा रहे।

धितोपत्र बोर्डमा नयाँ अध्यक्ष नियुक्ति, पूँजीबजार सुधारसम्बन्धी सरकारी सक्रियता तथा नयाँ कार्यक्रम घोषणा हुने अपेक्षाले पछिल्ला दिनमा लगानीकर्ताको मनोबल बढेको देखिएको छ। त्यसको सकारात्मक प्रभाव सोमबारको कारोबारमा समेत परेको विश्लेषण गरिएको छ।

सोमबार, ०४ साउन २०८३, १५ : १८

प्रतिक्रिया