काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँगको छलफलमा सेयर बजारका लगानीकर्ताले बजारमा माग (डिमान्ड) बढ्ने नीति ल्याउन आग्रह गरेका छन्। सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा लगानीकर्ताले पुँजीबजार सुधारका लागि विभिन्न नीतिगत सुझाव प्रस्तुत गरेका हुन्।
सेयर लगानीकर्ता अम्बिका प्रसाद पौडेलका अनुसार बजारमा बढ्दो सेयर आपूर्तिलाई सन्तुलनमा ल्याउन माग पक्ष सुदृढ बनाउन, संस्थागत लगानीकर्ताको भूमिका विस्तार गर्न तथा लगानीकर्ताको मनोबल बढाउने नीति आवश्यक रहेको धारणा प्रधानमन्त्रीसमक्ष राखिएको छ। कर प्रणालीमा सुधार गर्नुपर्ने विषय पनि छलफलमा उठाइएको उनले बताए।
नेपाल उद्योग वाणिज्य महासंघ पुँजीबजार फोरमका सभापति प्रियराज रेग्मीले ब्रोकर कम्पनीलाई नेपाल राष्ट्र बैंकमार्फत मार्जिन लेन्डिङ सञ्चालन गर्न अनुमति दिने व्यवस्था, गैरआवासीय नेपाली (एनआरएन)लाई ‘फास्ट ट्र्याक’मार्फत सेयर बजारमा प्रवेश गराउने, नेप्सेको पुनर्संरचना गरी प्रविधिमैत्री बनाउने तथा नयाँ लगानीका औजार विकास गर्नुपर्ने सुझाव दिएको जानकारी दिए।
लगानीकर्ताले धितोपत्र बोर्ड (सेबोन) को कार्यशैली सुधार, ‘१० कित्ते नीति’ हटाउने, योग्य संस्थागत लगानीकर्तामार्फत बुक बिल्डिङ प्रक्रियाबाट आईपीओ निष्कासन गर्ने तथा बजारको कारोबार र तरलता बढाउन ‘इन्ट्रा–डे’ कारोबार सुरु गर्नुपर्ने सुझाव पनि दिएका छन्।
छलफलका क्रममा प्रधानमन्त्री शाहले लगानीकर्ताका सुझाव गम्भीरतापूर्वक सुनेको र जायज मागहरू सम्बन्धित निकायसँग थप छलफल गरेर कार्यान्वयनतर्फ अघि बढाइने बताएका छन्। साथै, पुँजीबजारलाई पूँजी परिचालन र रोजगारी सिर्जनाको महत्वपूर्ण माध्यमका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ उद्धृत गरिएको छ।
प्रतिक्रिया