काठमाडौैं– प्रधानमन्त्री वालेन्द्र शाहले सोमबार पुँजीबजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका सरोकारवालासँग छलफल गरेका छन्। आर्थिक सुशासन, वित्तीय अनुशासन तथा पुँजीबजार सुधारका विषयमा सुझाव संकलन गर्ने उद्देश्यले आयोजित उक्त छलफलमा धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज (नेप्से), ब्रोकर कम्पनी तथा बीमा क्षेत्रका प्रतिनिधिहरू सहभागी थिए।
छलफलमा धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्ट, नेप्सेका अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका प्रमुख लगानीकर्ता सन्दीप जलान, नेप्सेका पूर्वअध्यक्ष सीताराम थपलिया, नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नवराज सिलवाल, नागरिक स्टक डिलर कम्पनीका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठ, प्रियराज रेग्मी तथा अम्बिका प्रसाद पौडेललगायत सहभागी थिए।
यसबीच, कार्यक्रममा सहभागी केही व्यक्तिहरूमाथि विगतमा विभिन्न वित्तीय अनियमितता, सहकारी विवाद, हुण्डी, क्रिप्टो कारोबार वा सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित आरोप सार्वजनिक रूपमा उठेको भन्दै प्रश्नसमेत उठाइएको छ।
प्रधानमन्त्री बालेनका निम्तालुमध्येका सागर ढकाल एसएनएस सहकारीको नाममा भएको विवादास्पद धन्दामा संलग्न रहेको आरोप लागेको थियो। प्रधानमन्त्रीसँगको भेटमा सहभागी सन्दीप जलान पनि स्रोत नखुलेको कालोधनको कारोबारमा मुछिएका छन्। जलानलाई नासा सेक्युरिटिजको प्रमुख लगानीकर्ताको रूपमा प्रधानमन्त्री शाहले परामर्शको लागि बोलाएका थिए । उनी प्रमुख लगानीकर्ता रहेको नासा सेक्युरिटिजका क्लाइन्टहरूमध्ये श्रीराम केसी फेक रेस्कुको अवैध धन्दामा संलग्न रहेको विषयमा समाचार प्रकाशित भएको थियो ।
प्रधानमन्त्रीको सचिवालयले छलफलमा सहभागी छनोटको आधारबारे औपचारिक धारणा सार्वजनिक गरेको छैन।
प्रतिक्रिया