काठमाडौं- नेको इन्स्योरेन्स लिमिटेडले १२ लाख कित्ता संस्थापक सेयर बिक्री प्रक्रिया अघि बढाएको छ। कम्पनीले सोमबार सूचना प्रकाशित गर्दै विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकताका आधारमा उक्त सेयर खरिदका लागि आवेदन दिन आग्रह गरेको हो।
कम्पनीका अनुसार एक संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल १२ लाख कित्ता संस्थापक सेयर बिक्री गर्न इच्छा व्यक्त गरेपछि सञ्चालक समितिको २०८३ असार ३१ गते बसेको बैठकले बिक्री प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।
नेपाल बीमा प्राधिकरणद्वारा जारी ‘बीमकको संस्थापक सेयर कारोबार सम्बन्धी निर्देशिका, २०७७’ अनुसार संस्थापक सेयर बिक्री गर्दा पहिलो प्राथमिकता कम्पनीकै विद्यमान संस्थापक सेयरधनीलाई दिनुपर्ने व्यवस्था भएकाले कम्पनीले सबै संस्थापक सेयरधनीलाई सूचना जारी गरेको जनाएको छ।
इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र अर्थात् २०८३ भदौ ८ गतेसम्म आफूले खरिद गर्न चाहेको सेयर संख्या र प्रतिकित्ता प्रस्तावित मूल्य उल्लेख गरी कम्पनीको केन्द्रीय कार्यालय, ज्ञानेश्वर, काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ।
कम्पनीका अनुसार तोकिएको अवधिभित्र आवेदन नपरेमा वा बिक्रीमा राखिएको कुल सेयरभन्दा कम परिमाणका लागि मात्र आवेदन प्राप्त भएमा बाँकी सेयर प्रचलित कानुन तथा निर्देशिकाबमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अगाडि बढाइनेछ।
नेको इन्स्योरेन्सले संस्थापक सेयर खरिद गर्न चाहने व्यक्ति वा संस्थाले नेपाल बीमा प्राधिकरणको ‘बीमकको संस्थापक सेयर कारोबार सम्बन्धी निर्देशिका, २०७७’ अनुसार योग्य हुनुपर्ने जनाएको छ। साथै, यस सम्बन्धी थप जानकारीका लागि कम्पनीको केन्द्रीय कार्यालय, ज्ञानेश्वरमा सम्पर्क गर्न आग्रह गरेको छ।
प्रतिक्रिया