अपडेट

प्रधानमन्त्री–लगानीकर्ता भेटपछि सेयरबजारमा सकारात्मक संकेत, ७.२५ अंकले बढ्यो नेप्से

मंगलबार, ०५ साउन २०८३, १५ : २०

काठमाडौं- सरकारले पुँजीबजारप्रति चासो देखाउन थालेपछि सेयरबजारमा सकारात्मक प्रभाव देखिन थालेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज (नेप्से), ब्रोकर तथा लगानीकर्तासँग छलफल गर्दै पुँजीबजारलाई देशको आर्थिक समृद्धिको महत्वपूर्ण आधारका रूपमा अघि बढाउने प्रतिबद्धता जनाएपछि बजारमा उत्साह थपिएको हो।

यसको प्रभावस्वरूप मंगलबार नेप्से परिसूचक तीव्र उतारचढावबीच ७.२५ अंकले बढेर २,७२६.४९ विन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल ६ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

कारोबारका क्रममा १०३ कम्पनीको सेयर मूल्य बढ्दा १६२ कम्पनीको घटेको छ भने १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

मंगलबारको कारोबारमा एभरेष्ट कलर लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै १४.९८ प्रतिशतले बढेको छ। अन्य केही कम्पनीको सेयर मूल्य पनि अधिकतम ७.५० प्रतिशतसम्म वृद्धि भएको छ।

यता, केही कम्पनीको सेयर मूल्यमा भने उच्च गिरावट पनि देखिएको छ। कारोबारका क्रममा अधिकतम ७.४४ प्रतिशतसम्म सेयर मूल्य घटेको छ भने एकल कम्पनीमा ५५ करोड रुपैयाँसम्मको कारोबार भएको छ।

समूहगत परिसूचकतर्फ वाणिज्य बैंक, लगानी, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार समूहमा हरियाली देखिएको छ। यद्यपि बाँकी अधिकांश समूहका परिसूचक भने घटेका छन्।

बजार विश्लेषकहरूले सरकारबाट पुँजीबजारलाई प्राथमिकता दिने संकेत मिलेपछि लगानीकर्ताको मनोबल केही बलियो बनेको र त्यसको प्रभाव बजारमा देखिन थालेको बताएका छन्।

मंगलबार, ०५ साउन २०८३, १५ : २०

प्रतिक्रिया