काठमाडौं– अरुणिमा शैक्षिक प्रतिष्ठानको आयोजनामा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूको स्वागत तथा कक्षा १२ को बोर्ड परीक्षा सफलतापूर्वक उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि बिदाई एवं सम्मान समारोह आयोजना गरिएको छ ।
समारोहको उद्घाटन विज्ञान संकायका प्रमुख श्यामलाल घिसिङ तथा कक्षा १२ का विद्यार्थीद्वय रोसन सुनार र अर्पणा मोक्तानले संयुक्त रुपमा गरेका थिए । समारोहमा विज्ञान संकायबाट ३.८६ जी.पि.ए ल्याई विद्यालय टपर भएका छात्र आराध्य दाहाल र व्यवस्थापन संकायबाट ३.८१ जी.पि.ए प्राप्त गरी सर्बोत्कृष्ट बन्नुभएकी छात्रा डोमा शेर्पालाई नगद पुरस्कार सहित सम्मान गरियो ।

समारोहलाई सम्बोधन गर्दै अरुणिमा मा.वि. का संयोजक÷अरुणिमा कलेजका क्याम्पस प्रमुख केशवप्रसाद जोशीले कक्षा कोठालाई विचारको प्रयोगशाला, पुस्तकलाई साथी र शिक्षकलाई मार्गदर्शक बनाउन नयाँ विद्यार्थीहरू समक्ष आग्रह गरे ।
प्रतिष्ठानका कार्यकारी प्रधानाध्यापक ईश्वरीप्रसाद लामिछानेले वि.सं. २०४२ मा स्थापित गैर–नाफामुलक प्रतिष्ठानले “सर्वाङ्गीण व्यक्तित्व विकासका लागि शिक्षा” भन्ने मुल दर्शनका साथ काम गरिरहेको बताए । सो अवसरमा विद्यार्थीहरूद्वारा नेपाली मौलिक संस्कृति र परम्परा झल्काउने करिब २० वटा विविध सांस्कृतिक नृत्य तथा गायन प्रस्तुतिहरू प्रस्तुत गरिएको थियो ।

प्रतिष्ठान सञ्चालक समितिका सदस्य एवं अरुणिमा परोपकार प्रतिष्ठानका अध्यक्ष शम्भुप्रसाद बडालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका गुठीयारहरू गोपाल बराल, सुभद्रा फुँयाल, अर्जुन शाक्य विभिन्न विद्यालयका प्रधानाध्यापकहरू, अरुणिमा शिक्षा सदनका प्रधानाध्यापक शोभा खनाल सहित शिक्षक–कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया