अपडेट

अण्डाको भाउ फेरि बढ्यो, किसान अझै लागत मूल्यबाट वञ्चित

बुधबार, ०६ साउन २०८३, ०९ : ४८

काठमाडौं– बर्डफ्लुको प्रभावका कारण केही समयअघि घटेको अण्डाको मूल्य पुनः बढ्न थालेको छ। उत्पादन घट्दै जाँदा बजारमा माग बढेपछि मूल्यमा सुधार देखिएको भए पनि किसानले अझै उत्पादन लागत बराबरको मूल्य पाउन सकेका छैनन्।

नेपाल लेयर्स कुखुरापालक संघका अनुसार आजदेखि लागू हुने गरी ठूलो अण्डाको मूल्य प्रतिक्रेट ९३० वटा० ४५० रुपैयाँबाट बढाएर ५०० रुपैयाँ कायम गरिएको छ। मध्यम अण्डाको मूल्य ४२० रुपैयाँबाट ४७० रुपैयाँ पुगेको छ भने सानो अण्डाको मूल्य ४१५ रुपैयाँ निर्धारण गरिएको छ। तीनै वर्गका अण्डामा प्रतिक्रेट ५० रुपैयाँले मूल्य वृद्धि गरिएको हो।

संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलका अनुसार बर्डफ्लुका कारण अण्डा उत्पादन उल्लेख्य रूपमा घटेपछि अहिले बजारमा माग बढ्दै गएको छ। दैनिक करिब ४५ लाख गोटा उत्पादन हुँदै आएको अण्डा बर्डफ्लुको प्रभावपछि घटेर करिब २८ लाख गोटामा सीमित भएको उनले जानकारी दिए।

उनका अनुसार जेठ महिनाको अन्त्यतिर प्रतिक्रेट अण्डाको मूल्य ५५० रुपैयाँ रहेकोमा क्रमशः घटेर ४५० रुपैयाँसम्म झरेको थियो। हाल मूल्य बढे पनि उत्पादन लागत अझै उठ्न नसकेको उनको भनाइ छ।

सङ्घका अनुसार एक क्रेट अण्डाको उत्पादन लागत ५७३ रुपैयाँ ६० पैसा पर्ने भएकाले हालको ५०० रुपैयाँको बिक्री मूल्य पनि लागतभन्दा करिब ७४ रुपैयाँ कम हो। प्रतिगोटा अण्डाको लागत करिब १९ रुपैयाँ १२ पैसा पर्ने जनाइएको छ।

अध्यक्ष पोखरेलले बजारमा माग अझै बढ्दै गएकाले निकट भविष्यमा किसानले लागत मूल्य प्राप्त गर्ने अपेक्षा रहेको बताए। साथै, बर्डफ्लुका कारण ठूलो आर्थिक क्षति व्यहोरेका कुखुरापालक किसानलाई सरकारले राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन आवश्यक रहेको उनले जोड दिए।

बुधबार, ०६ साउन २०८३, ०९ : ४८

प्रतिक्रिया