दाङमा चारजनालाई आमाको नामबाट नागरिकता

बुधबार, ०६ साउन २०८३, १५ : ०७

काठमाडौं - २०६२/६३ को जन आन्दोलनपछि उठेको प्रमुख मागमध्ये आमाको नामबाट नागकिरता पाउनुपर्दछ भन्ने पनि एक थियो । पुनस्र्थापित संसदले यो ऐन बनाए पनि व्यवहारमा कार्यान्वयन हुन लामो समय लाग्यो । व्यवहारिक तथा कानुनी जटिलताहरुको कारण यो संभव भैरहेको थिएन । तर समयक्रममा उक्त कानुनी व्यवस्थाले मूर्तरुप लिन थालेको छ । हालै मात्र जिल्ला प्रशासन कार्यालय दाङले असार महिनामा चारजनालाई आमाको नामबाट नेपाली नागरिकता जारी गरेको छ । नागरिकता वितरणमा आमाको नामलाई आधार बनाउँदै नागरिकता जारी गरिनु कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनका रूपमा हेरिएको छ । यस अवधिमा अंगीकृत नागरिकता पनि चारजनाले प्राप्त गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय दाङले सार्वजनिक गरेको असार महिनाको प्रगति विवरणअनुसार जिल्ला प्रशासन कार्यालय घोराही तथा इलाका प्रशासन कार्यालय तुलसीपुर र लमहीमार्फत असार महिनाभर कुल १६ हजार ८७८ जनाले विभिन्न प्रशासनिक सेवा प्राप्त गरेका छन् । तीमध्ये नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र तथा अन्य प्रशासनिक सेवाहरू प्रमुख रहेका छन् । प्रगति विवरणअनुसार वंशजका आधारमा असार महिनामा १ हजार ७४१ जनाले नयाँ नेपाली नागरिकता प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालय घोराहीबाट ५११, इलाका प्रशासन कार्यालय तुलसीपुरबाट ६८५ र इलाका प्रशासन कार्यालय लमहीबाट ५४५ जनाले नागरिकता लिएका छन् । यसै अवधिमा चारजनालाई आमाको नामबाट र चारजनालाई अंगीकृत नागरिकता प्रदान गरिएको हो । नागरिकता सेवातर्फ १ हजार ५०० जनाले नागरिकताको प्रतिलिपि प्राप्त गरेका छन् भने तीनवटा नागरिकता रद्द गरिएको छ । नाबालक परिचयपत्रतर्फ ५२ जनालाई परिचयपत्र वितरण गरिएको प्रशासनले जनाएको छ । राहदानी सेवाअन्तर्गत १ हजार ४८४ जनाको ई–पासपोर्ट इन्रोलमेन्ट गरिएको छ भने १ हजार ४६८ जनालाई ई–पासपोर्ट वितरण गरिएको छ ।


 

बुधबार, ०६ साउन २०८३, १५ : ०७

प्रतिक्रिया