समाचार

करदातालाई त्रसित होइन, खुसी बनाएर कर उठाउन अर्थमन्त्री वाग्लेको निर्देशन

विहीबार, ०७ साउन २०८३, १५ : ५४

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदातालाई त्रसित बनाएर होइन, सेवा र सहजीकरणमार्फत खुसी पारेर कर उठाउन कर प्रशासकहरूलाई निर्देशन दिएका छन्।

बिहीबार आन्तरिक राजस्व विभागमा देशभरका कर अधिकृतहरूलाई सम्बोधन गर्दै उनले कर संकलन स्वेच्छिक कर अनुपालनका आधारमा हुनुपर्ने बताए। "कर तिर्नु बोझ होइन भन्ने वातावरण बनाउनुपर्छ," उनले भने।

कर प्रशासनलाई प्रभावकारी बनाउन जनशक्ति, पूर्वाधार वा सूचना प्रविधिमा कुनै अभाव भए खुलस्त जानकारी गराउन उनले आग्रह गरे। उत्कृष्ट काम गर्ने कर्मचारीलाई प्रोत्साहन गरिने र सरुवाका लागि कुनै पनि प्रकारको सोर्सफोर्स नगर्न पनि उनले निर्देशन दिए।

अर्थमन्त्री वाग्लेले चालु आर्थिक वर्षको १६ खर्ब रुपैयाँ राजस्व संकलन लक्ष्य पूरा गर्न सबै संयन्त्र सक्रिय हुनुपर्ने उल्लेख गर्दै बजेटमा दिइएका कर छुट, करदाता प्रोत्साहन कार्यक्रम, डिजिटल कारोबार विस्तार र करदाता सचेतना अभियान प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिए।

साथै, नेपाललाई एफएटीएफको ग्रे लिस्टबाट बाहिर निकाल्ने प्रयासमा कर प्रशासनले सम्पत्ति शुद्धीकरणसम्बन्धी गतिविधिमाथि पनि विशेष निगरानी गर्नुपर्ने उनले बताए।

विहीबार, ०७ साउन २०८३, १५ : ५४

प्रतिक्रिया