पत्रकार महासंघका तीन शाखाद्वारा साउन ९ गते माइतीघरमा बृहत् विरोध प्रदर्शन

विहीबार, ०७ साउन २०८३, १७ : ०७

काठमाडौं– नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समिति तथा काठमाडौं, ललितपुर र भक्तपुर शाखाले सरकारका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्धका नीति र गतिविधिप्रति गम्भीर आपत्ति जनाउँदै आन्दोलनको घोषणा गरेका छन्।

संयुक्त विज्ञप्ति जारी गर्दै महासंघले नयाँ सरकार गठनपछि सञ्चार क्षेत्रले राखेको अपेक्षाविपरीत प्रेस स्वतन्त्रता र नागरिक अधिकारमाथि प्रतिकूल असर पर्ने गतिविधि बढेको आरोप लगाएको छ। सञ्चारमाध्यम लक्षित सरकारी नीतिका कारण प्रेस स्वतन्त्रताको वातावरण कमजोर बन्दै गएको विज्ञप्तिमा उल्लेख छ।

महासंघले समानुपातिक विज्ञापन नीति कार्यान्वयन, साना तथा स्वरोजगार सञ्चारमाध्यमको संरक्षण, लोककल्याणकारी विज्ञापनको समयानुकूल परिमार्जन, श्रमजीवी पत्रकार ऐन कार्यान्वयन, सञ्चारकर्मीको सामाजिक सुरक्षा र बीमालगायतका विषयमा सरकार उदासीन रहेको जनाएको छ।

विज्ञप्तिमा सरकारलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्धका नीति फिर्ता लिन, संवैधानिक तथा अन्तर्राष्ट्रिय अभ्यासअनुसार सञ्चारमैत्री नीति अवलम्बन गर्न आग्रह गरिएको छ।

यसैबीच, प्रेस स्वतन्त्रता, सञ्चारकर्मीको सुरक्षा र नागरिक अधिकारको रक्षाको माग गर्दै साउन ९ गते शनिबार माइतीघर मण्डलामा वृहत् विरोध प्रदर्शन आयोजना गर्ने निर्णय गरिएको महासंघले जनाएको छ। पत्रकार, नागरिक अधिकारकर्मी र सरोकारवालालाई प्रदर्शनमा सहभागी हुन पनि महासंघले आह्वान गरेको छ।

विहीबार, ०७ साउन २०८३, १७ : ०७

प्रतिक्रिया