काठमाडौं- रामेछाप जिल्लाको राजनीतिक इतिहास, जनप्रतिनिधिहरूको परिचय र स्थानीय शासनको विकास यात्रालाई समेट्ने ‘रामेछाप जनप्रतिनिधि सङ्गालो’ पुस्तक प्रकाशित भएको छ ।
दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहेका गाउँसहर डटकमका सम्पादक तथा आमसञ्चार एवं पत्रकारिता विषयका अध्यापक शिवराज खड्काद्वारा लिखित उक्त पुस्तकले विक्रम संवत् २००८ सालदेखि २०८२ सालसम्म रामेछापबाट विभिन्न तहमा प्रतिनिधित्व गरेका जनप्रतिनिधिहरूको राजनीतिक यात्रा, योगदान र परिचयलाई दस्तावेजीकरण गरेको छ ।
रामेछापको सुनापति गाउँपालिका–३, हिलेदेवी निवासी लेखक खड्काले आर्थिक, सामाजिक र राजनीतिक विषयमा निरन्तर कलम चलाउँदै आएका छन् । पत्रकारितासँगै विभिन्न कलेजमा आमसञ्चार तथा पत्रकारिता विषय अध्यापन गरिरहेका उनले दुई वर्षभन्दा बढी समय लगाएर पुस्तक तयार पारेका हुन् ।
पुस्तकमा २०७९ सालमा निर्वाचित स्थानीय, प्रदेश तथा प्रतिनिधिसभाका जनप्रतिनिधिहरूसँगै २०८२ सालको प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा सदस्यलाई पनि समेटिएको छ । साथै २००८ सालदेखि २०८२ सालसम्म रामेछापबाट केन्द्रमा प्रतिनिधित्व गरेका जनप्रतिनिधिहरूको विवरण समावेश गरिएको छ ।
_GiHCDSZnbi.jpg)
यसमा २०७९ र २०८२ सालका प्रतिनिधिसभा सदस्य, बागमती प्रदेशसभाका पाँच सदस्य, जिल्ला समन्वय समिति प्रमुख तथा उपप्रमुख, दुई नगरपालिकाका प्रमुख–उपप्रमुख, छ गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष, ६४ वडाका वडा अध्यक्ष तथा २५६ जना वडा सदस्यहरूको विवरण समेटिएको छ । साथै २०४३ सालदेखि उपलब्ध अभिलेखका आधारमा गाउँ पञ्चायतका प्रधानपञ्च तथा उपप्रधानपञ्च, २०४९ र २०५४ सालका गाविस अध्यक्ष–उपाध्यक्ष तथा २०७४ र २०७९ सालका स्थानीय जनप्रतिनिधिहरूको अभिलेख पनि समावेश गरिएको छ ।
लेखकका अनुसार पुस्तक तयार गर्ने क्रममा जनप्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाट, अन्तर्वार्ता, फोन संवाद तथा विभिन्न माध्यमबाट तथ्य सङ्कलन गरिएको हो । निर्वाचन आयोग, संघीय संसद सचिवालय, स्थानीय तहका अभिलेख, नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन तथा विभिन्न आधिकारिक स्रोतलाई आधार बनाएर पुस्तक तयार गरिएको उनले बताएका छन् ।
पुस्तक केवल जनप्रतिनिधिहरूको परिचय संग्रहमा सीमित नरही स्थानीय सरकार, शासन प्रणाली, राजनीतिक इतिहास र सामाजिक परिवर्तन बुझ्न चाहने विद्यार्थी, अनुसन्धानकर्ता, पत्रकार तथा सर्वसाधारणका लागि उपयोगी सन्दर्भ सामग्री हुने लेखकको विश्वास छ । पुस्तकको मूल्य एक हजार रुपैयाँ निर्धारण गरिएको छ ।
प्रतिक्रिया