निर्वासनमा रहेकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू भारतबाट स्वदेश फर्किने घोषणा गरेपछि बाङ्ग्लादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले पदबाट राजीनामा दिन लागेका छन्।
शाहबुद्दिन हसिनाका पूर्वसहयोगी हुन्। उनी सन् २०२३ मा राष्ट्रपति बनेका थिए।
केही दिनअघि शेख हसिनाले समाचारसंस्था रोएटर्ससँग कुराकानी गर्दै आफू बाङ्ग्लादेश फर्किने बताएकी थिइन्। त्यसको केही दिनपछि अहिले शाहबुद्दिनको सम्भावित राजीनामाबारे समाचार आएको हो।
बाङ्ग्लादेशमा सन् २०२४ मा विद्यार्थी नेतृत्वको आन्दोलनमा दमन गरेको अभियोगमा हसिनालाई मृत्युदण्डको सजाय सुनाइएको छ। उक्त आन्दोलन उत्कर्षमा पुगेपछि शेख हसिना भारत पलायन भएकी थिइन्।
नयाँ निर्वाचनपछि सत्तामा पुगेको बाङ्ग्लादेश न्याश्नलिस्ट पार्टीका नेताहरूले शाहबुद्दिनलाई पदत्याग गर्न दबाव दिँदै आएको बीबीसी बाङ्ग्लालाई स्रोतहरूले बताएका छन्।
राष्ट्रपतिको राजीनामा बुझ्न सभामुख स्वदेश फर्किँदै
एक वरिष्ठ अधिकारीले बीबीसी बाङ्ग्लालाई बताएअनुसार शाहबुद्दिन संसद्का सभामुखलाई आफ्नो राजीनामा बुझाउने योजनामा छन्।
औषधोपचारका लागि थाईल्यान्ड गएका सभामुख हाफिज उद्दिन अहमद आफ्नो भ्रमण छोट्ट्याएर शुक्रवार फर्किन लागेको स्रोतहरूले बीबीसी बाङ्ग्लालाई बताएका छन्।
स्रोतहरूका अनुसार शाहबुद्दिनले राजीनामापत्रमा स्वास्थ्यको कारण उल्लेख गर्न सक्ने सम्भावना छ।
शाहबुद्दिनका प्रवक्ताले रोएटर्सलाई बताएअनुसार राष्ट्रपतिले शुक्रवार राजीनामा दिने अपेक्षा गरिएको छ।
यद्यपि गृहमन्त्री सलाहुद्दिन अहमदले बिहीवार पत्रकारहरूसँग कुरा गर्दै सरकारले राष्ट्रपतिलाई केही नभनेको र संविधानले राष्ट्रपतिलाई चाहेमा राजीनामा दिन अनुमति दिएको बताएका छन्।
११ ज्यानुअरी २०२४ मा राष्ट्रपति शाहबुद्दिनले पुनः निर्वाचित भएकी शेख हसिनालाई प्रधानमन्त्री पदको शपथ गराएका थिए
यसै महिनाको सुरुमा हसिनाले रोएटर्ससँगको अन्तर्वार्तामा आफू र आफ्ना सहयोगीहरू भारतको निर्वासनबाट फर्किने र बाङ्ग्लादेशी अदालतमा उपस्थित हुने बताएकी थिइन्।
गत वर्ष बाङ्ग्लादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले हसिनालाई प्रदर्शनकारीहरूविरुद्ध घातक बल प्रयोग गर्न अनुमति दिएको अभियोगमा दोषी ठहर गरेको थियो। सन् २०२४ को आन्दोलनका बेला कम्तीमा १,४०० जनाको मृत्यु भएको थियो।
शेख हसिनाविरुद्ध उनको अनुपस्थितिमै मुद्दा चलेको थियो। अदालतले उनलाई मृत्युदण्डको सजाय सुनाएको थियो।
शेख हसिना अपदस्थ भएको केही महिनापछि उनको दल अवामी लीगलाई राजनीतिक प्रतिबन्ध लगाइएको छ। उक्त दलका धेरै नेताहरू कारावासमा छन्।
‘मेरो पार्टीका नेता र कार्यकर्ताहरूमाथि ठूलो दमन हुँदै छ’ उनले रोएटर्ससँगको अन्तर्वार्तामा भनेकी थिइन्।
‘यदि मृत्यु हुन्छ भने मेरो आफ्नै माटोमा होओस्, जहाँ मेरा आमाबुवालाई समाधिस्थ गरिएको र जहाँ उनीहरूको रगत बगेको थियो।’
राष्ट्रपतिको राजीनामाको कारण के हुन सक्छ
शेख हसिना नेतृत्वको सरकार ढलेपछि उनको प्रशासनका उच्च कर्मचारीहरूलाई पनि पदबाट हटाइएको थियो।
सत्तामा बाँकी रहेका उनका सीमित सहयोगीहरूमध्ये राष्ट्रपति शाहबुद्दिन एक हुन्।
नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार बनेपछि पनि शाहबुद्दिन राष्ट्रपति कायम रहे। उनको कार्यकाल सन् २०२८ सम्म थियो।
तर उनले गत डिसेम्बरमा रोएटर्सलाई आफू राष्ट्रपति पद छोड्ने विचारमा भएको बताएका थिए। बाङ्ग्लादेशी दूतावास र महावाणिज्य दूतावासहरूबाट आफ्नो तस्बिर अचानक हटाइएको प्रसङ्गबारे चर्चा गर्दै अन्तरिम सरकारबाट आफू ‘अपमानित’ महसुस गरेको बताएका थिए।
यद्यपि उनले निर्वाचन नहुन्जेल आफू पदमा कायमै रहने र आफ्नो पदबारे निर्णय गर्ने अधिकार आगामी सरकारलाई छाडिदिने उनले बताएका थिए।
फेब्रुअरीमा भएको संसदीय निर्वाचनमा बाङ्ग्लादेश न्याश्नलिस्ट पार्टी विजयी भयो। नयाँ सरकार बनेपछि पनि शाहबुद्दिन राष्ट्रपति पदमा कायम रहे।
शाहबुद्दिनले पदत्याग गरेमा ९० दिनभित्र नयाँ राष्ट्रपतिका लागि निर्वाचन गर्नुपर्छ।
बीबीसी न्यूज नेपाली
प्रतिक्रिया