दीपा नेपालीको ९९ दिने सत्याग्रहमा नेपाल दलित संघको ऐक्यबद्धता, माइतीघर आउन आह्वान

आइतबार, १० साउन २०८३, १४ : ००

काठमाडौं– विगत ९९ दिनदेखि काठमाडौंको माइतीघर मण्डलामा सत्याग्रहरत दीपा नेपालीको आन्दोलनप्रति नेपाल दलित संघले पूर्ण ऐक्यबद्धता जनाएको छ । संघले सरकारसँग आन्दोलनका मागहरू तत्काल सम्बोधन गर्न आग्रह गर्दै दलित समुदायका नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई आज दिउँसो ३ बजे माइतीघर मण्डलामा उपस्थित भई ऐक्यबद्धता जनाउन आह्वान गरेको हो ।

नेपाल दलित संघका केन्द्रीय अध्यक्ष विपिन रामुदामुको अनुरोधअनुसार संयुक्त राजनीतिक दलित संघर्ष समिति, नेपाली कांग्रेस र नेपाल दलित संघका तर्फबाट काठमाडौंमा रहेका सम्पूर्ण नेता तथा कार्यकर्तालाई आन्दोलनमा सहभागी हुन आग्रह गरेका छन् ।

संघले दीपा नेपालीको सत्याग्रहलाई व्यक्तिगत मागभन्दा पनि दलित समुदायको अधिकार, सम्मान, समानता र सामाजिक न्यायसँग जोडिएको आन्दोलनका रूपमा व्याख्या गरेको  अध्यक्ष रामुदामुले बताए । साथै, ९९ दिनदेखि निरन्तर सत्याग्रहमा रहेकी नेपालीको स्वास्थ्य अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै राज्यले तत्काल माग सम्बोधन गर्नुपर्नेमा उनले जोड दिए ।

दलित समुदायमाथि हुने विभेद र अन्यायविरुद्ध निरन्तर आवाज उठाउँदै आएको उल्लेख गर्दै संघले दीपा नेपालीको आन्दोलनमा ऐक्यबद्धता जनाउनु सबैको साझा दायित्व भएको बताएको छ । साथै, न्यायपूर्ण मागको सम्बोधन, दलित अधिकारको सुनिश्चितता र आन्दोलनरत नागरिकको आवाजप्रति सरकार जिम्मेवार बन्नुपर्नेमा संघले जोड दिएको छ ।
 

आइतबार, १० साउन २०८३, १४ : ००

प्रतिक्रिया