माग पूरा गर्न दबाब दिँदै स्थानीय

नागढुंगा सुरुङमार्ग उद्घाटनको मुखैमा स्थानीयले किन जनाए विरोध ?

सोमबार, ११ साउन २०८३, ११ : ०९

काठमाडौं- राष्ट्रिय गौरवको नागढुङ्गा सुरुङमार्ग उद्घाटनको तयारी भइरहेका बेला प्रभावित क्षेत्रका स्थानीयवासीले आफ्ना माग पूरा गर्न सरकार र आयोजना पक्षलाई दबाब दिँदै शान्तिपूर्ण धर्ना तथा प्रदर्शन गरेका छन्।

प्रभावित बासिन्दाले सुरुङमार्ग निर्माणका क्रममा उत्पन्न भएका समस्याको स्थायी समाधान र यसअघि भएका सहमतिहरू तत्काल कार्यान्वयन गर्न माग गरेका हुन्।

स्थानीयले खानेपानी आयोजनाको सञ्चालन सुनिश्चित गर्न, निर्माणका क्रममा चर्किएका घरहरूको प्राविधिक मूल्याङ्कन गरी उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा सिस्ने खोला पानी लिफ्टिङ आयोजना कार्यान्वयन गर्न माग गरेका छन्। साथै, सुरुङमार्गमा स्थानीयलाई सहज आवतजावतको व्यवस्था मिलाउन, प्रभावित क्षेत्रका नागरिकलाई रोजगारीमा प्राथमिकता दिन र क्षेत्रलाई ‘विशेष प्रभावित क्षेत्र’ घोषणा गरी सुरक्षाको प्रत्याभूति गर्नुपर्ने उनीहरूको माग छ।

धर्ना कार्यक्रममा बोल्दै स्थानीय प्रतिनिधिहरूले राष्ट्रिय गौरवको आयोजना सफल बनाउन आफूहरू सकारात्मक रहे पनि आफ्ना आधारभूत समस्या वर्षौंदेखि बेवास्ता भएको गुनासो गरे। विदेशी कूटनीतिज्ञसमेत सहभागी हुने उद्घाटन कार्यक्रमको तयारी भइरहेका बेला आफ्नै नागरिकका समस्याप्रति सरकार उदासीन बनेको उनीहरूको आरोप छ।

मागहरू सम्बोधन भए मन्त्रीलाई स्वागत गर्न तयार रहेको जनाउँदै स्थानीयले यसअघि सरकारी निकायले गरेका निर्णय र प्रतिबद्धता तत्काल कार्यान्वयन गर्न आग्रह गरेका छन्। माग पूरा नभएसम्म आन्दोलनलाई निरन्तरता दिने चेतावनीसमेत उनीहरूले दिएका छन्।

सोमबार, ११ साउन २०८३, ११ : ०९

प्रतिक्रिया