काठमाडौं- सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगञ्जमा एक जनाको मृत्यु पछि स्थिति सामान्य पार्न प्रहरीले लगाएको कर्फ्यूको उल्लघंन गर्दै स्थानीयले प्रदर्शन गरेको छ ।
दुई समूहबीचको झडप रोक्ने क्रममा प्रहरीले आइतबार राति गोली चलाउँदा २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । जसमा प्रहरीको गोली लागेर १० जना घाइते छन् ।
आदेश उल्लंघन गर्दै प्रदर्शन भएपछि देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज क्षेत्रमा नेपाली सेनाको टोली पुगेको छ । हतियारसहित सेनाको टोली पुगेपछि कप्तानगञ्जको अवस्था नियन्त्रणमा आएको छ ।
आइतबार राति सुनसरीमा दुई समूहबीचको झडप रोक्ने क्रममा प्रहरीले गोली चलाएको थियो । प्रहरीले चलाएको गोली १० जनालाई लागेको थियो । घाइते मध्ये २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ । ९ जना विराटनगरको विभिन्न अस्पतालमा उपचाररत छन् ।
घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहानदेखि ५ स्थानमा कर्फ्यु जारी गरेको थियो । तर कर्फ्यु उल्लङ्घन गर्दै स्थानीयले प्रदर्शन गरेका छन् ।
प्रतिक्रिया