भारतका जेनजी प्रदर्शनकारीका सम्भाव्य आगामी कदम कस्ता छन् ?

मंगलबार, १२ साउन २०८३, ११ : ५६

नरेन्द्र मोदीको हालसम्मको १२ वर्षे शासनकालमा भारतमा विगतमा जम्मा एक मन्त्रीले मात्रै राजीनामा दिएका थिए - त्यो पनि यौनदुर्व्यवहारको आरोपमा।

त्यसैले शिक्षामन्त्री धर्मेन्द्र प्रधानले शनिवार राजीनामा दिनुलाई धेरै युवाले दुर्लभ विजयको रूपमा मनाए। उनीहरूले एक साताभन्दा बढी सडकमा विरोध प्रदर्शन गरेपछि शनिवार उनको राजीनामा एउटा निर्णायक क्षण बन्न पुगेको थियो।

दिल्लीकी २२ वर्षीया विद्यार्थी अधिकारकर्मी सखी भन्छिन्, ूहामीले प्रदर्शनमार्फत् सबै कुरा सम्भव बनाउन सक्छौँ भन्ने पहिलोपटक लाग्यो।ू

प्रधानले राजीनामा दिएलगत्तै सामाजिक सञ्जालले मोदीका एक वरिष्ठ मन्त्रीले ‘हाम्रो सरकारमा राजीनामा दिने भन्ने हुँदैन’ भन्ने दाबी गरेको पुरानो भिडिओलाई हटायो, जसले राजीनामाको माग गर्दै भएको राष्ट्रव्यापी युवा आन्दोलनको विश्वासलाई झल्काउँछ।

उनीहरू लोकतन्त्रमा असहमतिको आवाजको महत्त्वबारे बताउने पाठ्यपुस्तकहरू पढेर हुर्केका भन्दै सखीले भनिन्, ‘तर मैले मोदीको पालामा मेरो वरिपरि त्यस्तो देखिनँ ।’

सखीले इन्स्टाग्राममा प्रहरी आक्रमण र हिरासतको फोटो र भिडिओहरू पोस्ट गरिन्। त्यहाँ उनीहरूको छेउमा उभिएका अधिकारीहरूलाई जिस्क्याइएको छ। उक्त भिडिओलाई लाखौँ पटक हेरिएको छ ।

आन्दोलनको भाषा र प्ल्याट्फर्मसँग बेखबर भएका कारण सरकारले आन्दोलनको गति बुझ्न नसकेको सखी बताउँछिन्। ‘मूलधारका मिडिया, फेसबुक र ह्वाट्सएपमा सरकारको पकड छ। तर यसले इन्स्टाग्रामलाई छुटायो ।’

भारतका प्रधानन्यायाधीशले ‘नक्कली र फर्जी डिग्री’ भएका बेरोजगारहरूलाई साङ्ला ‘(कक्रोच)’सँग तुलना गरेपछि सुरु गरिएको एउटा अनलाइन अभियान कक्रोच जनता पार्टी (सीजेपी) ले आक्रोशलाई यो रूप दिएको थियो। यसका संस्थापकहरूले दिल्लीमा धर्ना दिँदै शिक्षामन्त्री प्रधानको राजीनामा, शिक्षा सुधार र शोकसन्तप्त परिवारको क्षतिपूर्तिको माग गरेका थिए।

भारतमा शिक्षामन्त्रीले दिए राजीनामा, सीजेपीले के भन्यो

मोदी सरकारलाई दबाव दिँदै कक्रोच जनता पार्टी र विद्यार्थीहरूको धर्ना जारी, राहुल गान्धीको पनि साथ
सुरुमा प्रदर्शनले थोरैको ध्यान खिचेको थियो। तर जुलाई १८ तारिखमा दिल्ली प्रहरीले भोक हड्तालमा रहेका शिक्षाविद् सोनम वाङ्चुकलाई त्यहाँबाट बलपूर्वक हटाएर अस्पताल भर्ना गरेपछि भने त्यसले आक्रोश बढायो।

दुई दिनपछि सीजेपीको आह्वानमा १० औँ हजार मानिसहरूले संसद् भवनमा र्‍याली निकाले तर त्यहाँ प्रहरीले दमन गर्‍यो। लाठीचार्ज, अश्रुग्याँस र ‘पेलेट’ बन्दुकका भिडिओहरू अनलाइन माध्यममा तीव्र गतिमा फैलिए, जसले विरोध प्रदर्शनलाई दबाउनुको सट्टा जनताको आक्रोश झन् बढायो।

‘अन्त्य होइन, सुरुवात’

सोमाया कोर्डेले मानिसहरूलाई विरोध प्रदर्शनमा भेला हुन आग्रह गर्दै अनलाइन सन्देश पठाएपछि प्रहरीले उनलाई उनकै घरबाट हिरासतमा लिएको थियो । भारतका युवाहरूको असन्तुष्टि र सडकमा आवाज उठाउने साहस देशका अन्य सडकहरूमा पनि फैलियो।

जुलाई २० तारिखमा मुम्बईमा भएको विरोध प्रदर्शनमा सामेल हुन आग्रह गरेपछि सोमाया कोर्डेलाई घरमै हिरासतमा लिइएको थियो। तर त्यसपछिका दिनहरूमा उनले धेरै प्रदर्शनहरूमा भाग लिइन्।

प्रधानको राजीनामा अन्त्य नभई सुरुवात मात्र भएको २६ वर्षीया उनले बताइन्।

‘यो पुस्ताका लागि हामीमध्ये धेरै विरोध गर्न बाहिर निस्केका छौँ र यो पहिलो पटक हो। तर यहाँ अझै ठूला मुद्दाहरू छन् र हामी तिनीहरूबारे कुरा गर्ने छौं,’ उनले भनिन्।

आफ्नो परिवारभरिमा कानुनमा स्नातक गर्ने पहिलो महिला रहेकी कोर्डे पछिल्लो स्थानीय चुनावमा उम्मेदवारका रूपमा उठेकी थिइन्। उनी ऐतिहासिक, सामाजिक र आर्थिक कारण आधिकारिक रूपमा ूपिछडिएकोू रूपमा वर्गीकृत समुदायकी हुन्।

धेरै भारतीय युवाहरूले जस्तै उनले पनि शिक्षाले आफ्नो राम्रो जीवनको बाटो देखाउने ठानेकी थिइन् तर एनईईटीको प्रश्नपत्र बाहिरिएपछि कडा मिहिनेतबाट पुरस्कृत हुन सकिन्छ भन्ने उनको विश्वासलाई चकनाचुर पार्‍यो।

‘विद्यालय र कलेजको निजीकरण भइरहेको छ, प्रश्नपत्र यसरी बाहिरिइरहेको छ, पढाइ सिध्याए पनि पर्याप्त रोजगारी छैन। लोकतन्त्रमा यी सबै कुराले सरकारविरुद्ध जवाफदेहिताको प्रश्न उब्जाएको छ,’ उनले भनिन्।

युवालाई पिरोलेका मुद्दाहरू

१८ वर्षे हर्षवर्धन कदमले प्रहरी अधिकारीले आफूलाई दिएको धम्कीबारेको भिडिओ पोस्ट गरेपछि त्यो भाइरल भयो
उनको निराशाले एउटा बृहत् तस्बिरको सङ्केत गर्छ।

भारतमा विश्वको सबैभन्दा ठूलो युवा जनसङ्ख्या छ, तर १५ देखि २९ वर्ष उमेर समूहका युवामा बेरोजगारी दर अघिल्लो वर्षको १३.८ प्रतिशतबाट बढेर जुन महिनामा १६.२ प्रतिशत पुगेको सरकारी तथ्याङ्कले देखाएको छ ।

स्नातक गरेका विद्यार्थीहरू पनि सङ्घर्ष गरिरहेका छन् ः सन् २०२६ को अजीम प्रेमजी विश्वविद्यालयको एउटा अध्ययनले जागिर खोज्नेहरूमध्ये ७ प्रतिशतभन्दा कमले एक वर्षभित्र स्थायी तलब हुने काम पाएको र ४ प्रतिशतभन्दा कमले कार्यालयमा गर्ने जागिर पाएको देखियो।

युवाहरूका लागि आफ्नो डरबाट माथि उठेर निराशा व्यक्त गर्न यो प्रदर्शन एउटा बिन्दु बन्यो। तीमध्ये १८ वर्षीय हर्षवर्धन कदम पनि थिए। उनी गत वर्ष आफ्नो बुवाको मृत्युपछि आफ्नी आमालाई सहयोग गर्न स्कूलको समयपछि ल्यापटप बेच्ने काम गर्थे।

गत २३ जुलाईमा हर्षवर्धनले मुम्बईमा विरोध र्‍यालीका क्रममा खिचेको भिडिओ भाइरल भएको थियो । इन्स्टाग्राम यो भिडिओ अहिलेसम्म एक करोड पटक हेरिएको छ।

भिडिओमा एक प्रहरीले उनलाई लागुऔषधको नक्कली मुद्दामा फसाउने धम्की दिएको र भ्यानमा थुनेको देखिन्छ। त्यसयता ती प्रहरीलाई निलम्बन गरिएको छ।

‘मैले उनी निलम्बनमा परून् भन्ने चाहेको थिइनँ,ू कदमले बीबीसीसँग भने, ू शान्तिपूर्ण प्रदर्शनमा भाग लिँदा प्रहरीले कस्तो व्यवहार गरेको छ भन्ने कुरा मात्रै राख्न चाहन्थेँ ।’

शिक्षामन्त्री प्रधानको राजीनामापछि उनले भने ः‘यो केवल सुरुवात हो। यसले के देखाउँछ भने अर्को पटक हामीले हाम्रो आवाज उठाउँदा सरकार डराउने छ।ङ्घ

अब कसको पालो ?

पटनाकी वरुणी पूर्वा प्राध्यापक बन्न चाहन्छिन्, उनले झन्डै १० वर्षयता विद्यार्थी अभियानकर्मीका रूपमा आवाज उठाउँदै आएकी छन्
गुवाहाटीका २९ वर्षीय स्वराज प्रियो पटकथा लेखक हुन्। उनले मोदी सरकारका कामकारबाहीबारे वर्षौँदेखि प्रदर्शन गर्दै आए पनि परिवर्तन नभएका कारण आफू दिग्भ्रमित भएको बताएका छन्। तर यो आन्दोलनले उनको आशा पुनः ब्युँताइदिएको छ ः‘यो आन्दोलनले प्रश्न र असहमतिको लागि ठाउँ छ र सबै कुरा समाप्त भएको छैन भन्ने भन्ने देखाएको छ।’

मोदी सरकार डराएको छ र आफ्नो बचाउमा पुगेको छ भन्ने भावना स्पष्ट रूपमा देखिँदै गएको छ। देशैभरि प्रदर्शनस्थलहरूमा ‘प्रधान एक जना उदाहरण मात्रै हुन्। अबको पालो मोदीको’ भन्ने पोस्टर राखिएको छ।

तर सँगै यसको मूल्य महँगो पर्ने केही आशङ्का गरिएका छन्।

पटनाबाट करिब एक दशकदेखि विद्यार्थी अभियानकर्मी बनेर काम गरिरहेकी ३० वर्षे वरुणी पूर्वाले प्रधानको राजीनामाले मोदी सरकारलाई ‘घुँडा टेकाउन सकिन्छ’ भन्ने देखाएको बताउँछिन्।

तर सरकारले जसले प्रदर्शनहरूमा भाग लिए र आयोजना गरे उनीहरूविरुद्ध केही नगर्ने प्रतिबद्धता जनाए पनि पूर्वा उनीहरूविरुद्धू विभिन्न कदम चालिन सक्ने आशङ्का व्यक्त गर्छिन्।

गत साता, उनले सम्भावित गिरफ्तारीबाट बच्न अग्रिम जमानत बुझाउन पाउनुपर्ने माग गरेकी थिइन्।

ह्यूमन राइट्स वाचले मोदीको नेतृत्वमा भारतीय अधिकारीहरूले ‘बढाइचढाइ गरिएको प्रतिआतङ्कवाद र घृणायुक्त अभिव्यक्तिसम्बन्धी कानुनका आधारमा अभियानकर्मी, पत्रकार र शान्तिपूर्ण प्रदर्शनकारीमाथि नियमित रूपमा मुद्दा चलाएका’ जनाएको छ।

धेरै विद्यार्थीका अभिभावकहरूले कारबाहीको डर व्यक्त गरे पनि पूर्वा प्रदर्शनले युवाहरूलाई नयाँ आत्मविश्वास दिलाएको विश्वास गर्छिन्, उनीहरूको गहिरो निराशाको समाधान नभएसम्म सरकारलाई ‘सामान्य रूपमा काममा फर्किन गाह्रो हुने उनी बताउँछिन्।

बिबिसी

मंगलबार, १२ साउन २०८३, ११ : ५६

प्रतिक्रिया