एआईमा नेपाली युवालाई दक्ष बनाउन क्यान र महर्षि कलेजको रणनीतिक साझेदारी

मंगलबार, १२ साउन २०८३, १२ : ३८

काठमाडौं- कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ) र महर्षि कलेजबीच नेपालभर कृत्रिम बौद्धिकता (एआई) तथा भविष्यका प्रविधि सीप विस्तार गर्ने उद्देश्यले पाँच वर्षे रणनीतिक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।

सम्झौताअनुसार सातै प्रदेशका युवालाई एआई, कोडिङ तथा अन्य अत्याधुनिक प्रविधिसम्बन्धी व्यावहारिक ज्ञान र सीप प्रदान गरिनेछ । प्रविधि शिक्षालाई काठमाडौं केन्द्रित मात्र नभई देशभर विस्तार गर्ने उद्देश्यसहित क्यान महासंघ र महर्षि कलेजले सहकार्य अघि बढाउने भएका हुन् ।

सम्झौतामा क्यान महासंघका कार्यवाहक अध्यक्ष तथा वान कभर प्रालिका संस्थापक प्रमुख कार्यकारी अधिकृत चिरञ्जीबी अधिकारी र महर्षि कलेजका प्रिन्सिपल रामराज आचार्यले हस्ताक्षर गरे ।

सहकार्यअन्तर्गत युवाका लागि कोडिङ बुटक्याम्प, ह्याकाथन तथा इनोभेसन च्यालेन्ज, स्टार्टअप इन्क्युबेसन सहयोग र शिक्षक क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिनेछ । विद्यार्थीलाई प्रविधिको उपभोक्ताबाट डिजिटल नवप्रवर्तक बनाउने उद्देश्यले उद्योगसँग जोडिएको व्यावहारिक सिकाइमा जोड दिइने क्यान महासंघले जनाएको छ ।

क्यान महासंघका कार्यवाहक अध्यक्ष अधिकारीले एआईको प्रयोगकर्ता मात्र नभई नेपाली युवालाई यसको निर्माणकर्ता र नवप्रवर्तक बनाउने उद्देश्यले साझेदारी गरिएको बताए । सातै प्रदेशमा तालिम र स्टार्टअप कार्यक्रम पुर्‍याएर प्रविधिमा रुचि राख्ने युवालाई समान अवसर उपलब्ध गराउने लक्ष्य रहेको उनको भनाइ छ ।

महर्षि कलेजका प्रिन्सिपल आचार्यले शैक्षिक ज्ञानलाई उद्योगको आवश्यकतासँग जोडेर प्रविधि क्षेत्रमा प्रवेश गर्न सक्ने दक्ष जनशक्ति तयार पार्ने उद्देश्यले सहकार्य गरिएको बताए ।

सम्झौता हस्ताक्षर कार्यक्रममा क्यान महासंघका उपाध्यक्ष सुवास खड्का, केन्द्रीय सदस्य तथा शिक्षा समितिका सहसंयोजक ओंकार बस्नेतलगायत प्रविधि तथा शिक्षा क्षेत्रका प्रतिनिधिको उपस्थिति थियो ।

विश्वव्यापी रूपमा एआई र डिजिटल प्रविधिको प्रयोग बढ्दै गइरहेको अवस्थामा नेपालका युवालाई आवश्यक सीप र अवसर उपलब्ध गराउने उद्देश्यले गरिएको यो साझेदारीलाई डिजिटल अर्थतन्त्र विकासतर्फको महत्वपूर्ण पहलका रूपमा हेरिएको छ ।

मंगलबार, १२ साउन २०८३, १२ : ३८

प्रतिक्रिया