काठमाडौं- नर्भिक इन्टरनेशनल हस्पिटल एन्ड मेडिकल कलेजले गत आर्थिक वर्षको पहिलो ९ महिनामा २ अर्ब ४ करोड ४० लाख रुपैयाँको कारोबार गरेको छ। ओपीडी र आईपीडी सेवामा बिरामीको संख्या बढेसँगै अस्पतालको आम्दानीमा उल्लेख्य सुधार भएको हो।
अस्पतालका अनुसार सन् २०२५ मा वार्षिक कारोबार २ अर्ब २६ करोड ३० लाख रुपैयाँ पुगेको थियो, जुन सन् २०२४ को तुलनामा ११ प्रतिशत बढी हो। सन् २०२३ मा अस्पतालको कारोबार १ अर्ब ९४ करोड रुपैयाँ रहेको थियो।
गत आवको ९ महिनामा ओपीडी सेवा लिने बिरामीको संख्या ८.९ प्रतिशतले बढेर १ लाख २७ हजार ४७३ पुगेको छ भने आईपीडी सेवा लिने बिरामी ४.६ प्रतिशतले बढेर ६ हजार ५९४ पुगेका छन्। सन् २०२५ मा मात्रै १ लाख ६० हजार ३५१ जनाले ओपीडी तथा ८ हजार ५०० जनाले आईपीडी सेवा लिएका थिए।
अस्पतालले सञ्चालन कार्यसम्पादनमा सुधार गर्दै सन् २०२५ मा सञ्चालन मार्जिन २७ प्रतिशत कायम गरेको जनाएको छ। नगद आर्जन पनि बढ्दै सन् २०२२ को २३ करोड ७० लाख रुपैयाँबाट सन् २०२५ मा ४१ करोड ९० लाख रुपैयाँ पुगेको थियो। गत आर्थिक वर्षको ९ महिनामा नगद सञ्चिति थप बढेर ४७ करोड १० लाख रुपैयाँ पुगेको अस्पतालले जनाएको छ।
क्षमता विस्तारका लागि ऋण परिचालन गरिए पनि स्वस्थ नाफा, थप इक्विटी लगानी र न्यून ब्याजदरका कारण अस्पतालको वित्तीय अवस्था थप सुदृढ बनेको दाबी गरिएको छ।
प्रतिक्रिया