सुर्खेतको लेकबेशीमा मुस्ताङ जिप दुर्घटना

मंगलबार, १२ साउन २०८३, १३ : ५६

काठमाडौ - सुर्खेतको लेकबेशी नगरपालिका ५ र ६ को सिमाना हलकन्डरा क्षेत्रमा मंगलबार बिहान यात्रुबाहक मुस्ताङ जिप दुर्घटना भएको छ । उक्त दुर्घटनामा १२ जना घाइते भएका छन्। 

दुर्घटनामा घाइते ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दाङागाउँबाट दशरथपुरतर्फ आउँदै गरेको भे.१ ख ५४० नम्बरको मुस्ताङ जिप उकालो सडकमा आफैँ अनियन्त्रित भई पल्टिएको थियो। दुर्घटनामा चालक लेकबेशी–४ निवासी २३ वर्षीय दिपेश पुनको खुट्टामा सामान्य चोट लागेको छ। 

त्यस्तै लेकबेशी–६ निवासी २२ वर्षीया सुष्मा कार्की, २६ वर्षीया तिल्सरा सिरिस, करिब ७० वर्षीया अमृता कार्की र करिब ७० वर्षीया खगिसरा बिक गम्भीर घाइते भएका छन्। उनीहरूको छाती, शरीर तथा ढाडमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। 

यसैगरी करिब ७ वर्षीय दर्शन बिक, २५ वर्षीया जुना सुनार, ३० वर्षीया उमा राना, २३ वर्षीया मिना परियार, २८ वर्षीया गीता सुनार, २७ वर्षीया दिलमाया बिक र २८ वर्षीया समीक्षा बिक पनि घाइते भएका छन्। उनीहरूमध्ये केहीको अवस्था मध्यम र केहीको सामान्य रहेको छ। गम्भीर तथा मध्यम अवस्थाका घाइतेहरूलाई उपचारका लागि माया नर्सिङ होम, सुर्खेत पठाइएको छ। 

सामान्य घाइते मिना परियार, गीता सुनार, दिलमाया बिक र समीक्षा बिकको दशरथपुरस्थित स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनाको कारण र थप विवरणबारे अनुसन्धान भइरहेको छ।

मंगलबार, १२ साउन २०८३, १३ : ५६

प्रतिक्रिया