काठमाडौं- नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनामा घाइते तथा मृत्यु भएका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराउन छुट्टै ‘घाइते राहत कोष’ स्थापना गर्न सरकारसँग माग गरेको छ।
महासंघका अध्यक्ष राजेन्द्रविक्रम बानियाँ नेतृत्वको टोलीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी हालको बीमा व्यवस्थाले उपचार खर्च धान्न नसक्ने भएकाले कानुनी व्यवस्था गरेर राहत कोष स्थापना गर्नुपर्ने प्रस्ताव राखेको हो।
महासंघका अनुसार सार्वजनिक सवारी दुर्घटनामा घाइतेको उपचार खर्च लाखौं रुपैयाँ पुग्ने भए पनि बीमाबाट उपलब्ध हुने ३ लाख रुपैयाँ पर्याप्त छैन। त्यसैले व्यवसायीबाट संकलित रकम परिचालन गरी घाइतेको उपचार, पुनःस्थापना तथा मृत्यु भएका व्यक्तिका परिवारलाई थप राहत उपलब्ध गराउने व्यवस्था गर्न माग गरिएको छ।
भेटमा अर्थमन्त्री वाग्लेले बीमाले नसमेटेका खर्च राहत कोषमार्फत व्यवस्थापन गर्ने विषयमा सरकार सकारात्मक रहेको बताएका छन्। साथै महासंघले राहतका लागि संकलित रकममा मूल्य अभिवृद्धि कर (भ्याट) छुट र पहिरोका कारण अवरुद्ध तातोपानी नाका शीघ्र सञ्चालनमा ल्याउन पनि सरकारसँग आग्रह गरेको छ।
प्रतिक्रिया