नेपालभर राष्ट्रिय एआई शिक्षा सुरु गर्न क्यान महासंघ र महर्षि कलेजबीच ऐतिहासिक साझेदारी

बुधबार, १३ साउन २०८३, १२ : २५

काठमाडौं- नेपालभर कृत्रिम बौद्धिकता (एआई) तथा भविष्यका प्रविधि सीपको पहुँच विस्तार गर्ने उद्देश्यसहित कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ) र सुदूरपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त महर्षि कलेजबीच पाँच वर्षका लागि रणनीतिक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा क्यान महासंघका कार्यवाहक अध्यक्ष तथा वान कभर प्रालिका संस्थापक–सीईओ चिरञ्जीबी अधिकारी र महर्षि कलेजका प्रिन्सिपल रामराज आचार्यले संयुक्त रूपमा समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार नेपालका सातै प्रदेशका युवामाझ एआई, कोडिङ तथा अन्य अत्याधुनिक प्रविधिसम्बन्धी व्यावहारिक शिक्षा र सीप विकास कार्यक्रम सञ्चालन गरिनेछ। यसअन्तर्गत कोडिङ बुटक्याम्प, ह्याकाथन, इनोभेसन च्यालेन्ज, स्टार्टअप इन्कुबेसन तथा शिक्षक क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

सहकार्यले कक्षा कोठाको सिकाइ र प्रविधि उद्योगबीचको दूरी घटाउँदै विद्यार्थीलाई प्रविधिको उपभोक्ताबाट डिजिटल नवप्रवर्तकमा रूपान्तरण गर्ने लक्ष्य लिएको क्यान महासंघले जनाएको छ ।

कार्यक्रममा बोल्दै क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीबी अधिकारीले यो साझेदारीले युवाको वास्तविक क्षमता उजागर गर्दै उनीहरूलाई एआईको प्रयोगकर्ता मात्र नभई यसको विकासकर्ता बन्न प्रेरित गर्ने बताए। सातै प्रदेशमा बुटक्याम्प र स्टार्टअप कार्यक्रम सञ्चालन गरी देशभरका युवालाई समान अवसर उपलब्ध गराइने उनको भनाइ थियो ।

महर्षि कलेजका प्रिन्सिपल रामराज आचार्यले शैक्षिक पाठ्यक्रमलाई उद्योगसँग जोड्दै विद्यार्थीलाई प्रविधि क्षेत्रमा प्रत्यक्ष प्रवेश गर्ने वातावरण तयार पार्ने उद्देश्यले सहकार्य गरिएको बताए। यसबाट भविष्यका चुनौती सामना गर्न सक्षम र प्रविधिमैत्री जनशक्ति उत्पादनमा सहयोग पुग्ने उनको विश्वास छ ।

हस्ताक्षर समारोहमा क्यान महासंघका उपाध्यक्ष सुवास खड्का, केन्द्रीय सदस्य तथा शिक्षा समितिका सह–संयोजक ओंकार बस्नेतसहित शिक्षा तथा प्रविधि क्षेत्रका विभिन्न व्यक्तित्वको उपस्थिति रहेको थियो ।

क्यान महासंघ र महर्षि कलेजले यस सहकार्यमार्फत नेपालका युवालाई विश्वव्यापी डिजिटल प्रतिस्पर्धाका लागि सक्षम बनाउँदै देशको डिजिटल अर्थतन्त्र सुदृढ बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।

बुधबार, १३ साउन २०८३, १२ : २५

प्रतिक्रिया