काठमाडौं– अविरल वर्षासँगै आएको पहिरो र बाढीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडक खण्डमा सवारी आवागमन प्रभावित भएको छ।
नेपाल प्रहरीले बिहीबार बिहान ७ः५० बजेसम्मको विवरण सार्वजनिक गर्दै सात स्थानका सडक पूर्ण रूपमा अवरुद्ध भएको तथा दुई प्रमुख सडकमा रातिको समयमा सवारी सञ्चालनमा अस्थायी प्रतिबन्ध लगाइएको जनाएको छ।
प्रहरीका अनुसार काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा सम्भावित बाढीको जोखिमका कारण बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। त्यस्तै, कान्तिलोकपथमा पनि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा प्रतिबन्ध लगाइएको छ।
यता इलाम नगरपालिका–९ स्थित मेची राजमार्गमा वर्षाका कारण सडक हिलाम्मे बनेपछि सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्गको जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।
दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटारस्थित लामासाँघु–रामेछाप सडक खण्डमा सामाकोशी खोलाको बहावले सडक कटान गरेपछि यातायात ठप्प भएको छ।
त्यसैगरी, रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित पासाङ ल्हामु सडक खण्डमा त्रिशूली नदीले सडक कटान गरेपछि सवारी सञ्चालन रोकिएको छ।
ललितपुरको बागमती गाउँपालिका–३ अन्तर्गत कान्तिलोकपथमा सुक्खा पहिरो खसेपछि उक्त सडक पनि पूर्ण रूपमा बन्द रहेको छ।
जाजरकोट–डोल्पा सडकअन्तर्गत मूलपानी खोलामा आएको बाढीले सडक बगाउँदा सो सडक खण्डमा पनि सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
प्रहरीले वर्षायाममा पहिरो, बाढी र सडक कटानको जोखिम उच्च रहने भएकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन र आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
प्रतिक्रिया