काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीको कप्तानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन गरी वास्तविकता सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै दाहालले कप्तानगञ्जमा गोली चलाउनुपर्ने अवस्था किन आयो भन्ने विषयमा निष्पक्ष अध्ययन हुनुपर्ने बताए। उनले घटनामा भएको अराजकताको जिम्मेवारी राजनीतिक नेतृत्वले लिनुपर्ने धारणा राखे।
प्रधानमन्त्री र गृहमन्त्रीले उक्त घटनाप्रति आवश्यक संवेदनशीलता नदेखाएको आरोप लगाउँदै उनले सरकारलाई सामाजिक सद्भाव कायम राख्न विशेष ध्यान दिन आग्रह गरे।
दाहालले देशको समग्र राजनीतिक अवस्था सहज नरहेको टिप्पणी गर्दै जनताले निर्वाचनमार्फत व्यक्त गरेको अपेक्षाअनुसार सरकारले काम गर्न नसकेको बताए।
‘अहिले देशको समग्र राजनीतिक परिस्थिति सहज छैन। निर्वाचनमा जनताले दिएको अभिमतअनुसार सरकार अघि बढ्न सकेको छैन। सरकारका गतिविधिले जनताको अपेक्षा पूरा गर्न सकेका छैनन्,’ उनले भने।
उनले पछिल्ला घटनाक्रमका कारण देशको अवस्था अझ जटिल बन्न सक्ने चिन्ता व्यक्त गर्दै राम्रो कामको मात्र होइन, नराम्रा घटनाको पनि राजनीतिक नेतृत्वले जिम्मेवारी लिनुपर्ने धारणा व्यक्त गरे।
प्रतिक्रिया