टिप्पणी

सुनसरी घटनाले निम्त्याएको अवस्थाको संकेत

विहीबार, १४ साउन २०८३, १४ : १६

काठमाडौं - सुनसरीको कप्तागञ्जमा भएको घटनाले नेपाली समाजको ऐतिहासिक परम्परा र संस्कारलाई चुनौतिपूर्ण बनाइदिएको छ । एकतामा अनेकता र अनेकतामा एकता नै नेपाली समाजको विशेषता हो । आज हाम्रो समाजको मूल्य मान्यतामाथि गम्भीर प्रकारका आक्रमणहरु भैरहेका छन् । त्यस्तै घटनामध्ये एक हो सुनसरी घटना । अझ ठूलो रहष्य त यस घटनापछि सरकारका प्रधानमन्त्रीले देखाएको व्यवहारमा लुकेको छ । राष्ट्रलाई संकट पर्दा प्रधानमन्त्रीले राष्ट्रिय एकताको पहल गर्नुपर्दैन ? भदौ २४ मा देश जल्दा रमिते बनेको सेनाको सक्रियता पनि गजबको देखियो । यद्यपी शान्ति कायम गर्न गरिएका जुनसुकै प्रयास पनि सही नै छन् । सरकारले बुझ्नपर्दछ, समस्याको समाधान राजनीतिक रुपमा नै खोज्नुपर्दछ । जंगी समाधानले दीर्घ शान्ति स्थापना हुन सक्तैन । रास्व्पा सभापनि रबी लामिछानेले यसै समस्याको केन्द्रमा रहेर सर्बदलीय बैठकको आयोजना गरे । उनी धन्यवादको पात्र छन् । यो बैठकको आयोजना प्रधानमन्त्रीले नै गर्नुपर्ने हो । तर उनी आफै आफ्नो सभापनिले बोलाएको बैठकमा आएनन् । मानौं यहाँ आउँदा उनको उचाइ घट्छ ।  
  यसै सन्दर्भमा प्रतिनिधिसभाको बैठकलाई विशेष सम्बोधन गर्दै नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल राष्ट्रलाई असफल बनाउने अर्को ठूलो दुर्घटना गराउने प्रयास कसैबाट भइरहेको हुन सक्ने चिन्ता व्यक्त गरेका छन् ।

उनी भन्छन्, ‘यो सरकारलाई फेरि असफल सावित गर्ने, यो सरकारले पनि शान्ति सुरक्षा कायम गर्न सकेन, जनताको आर्थिक विकास र समृद्धिको आकांक्षा सम्बोधन गर्न सकेन, यो सरकारले पनि सुशासन कायम गर्न सकेन । त्यसकारण नेपाल राष्ट्रलाई असफल बनाउने र अर्को ठूलो दुर्घटना त हुने होइन रु भन्ने गहिरो चिन्ता व्यक्त गर्न चाहन्छु ।’

उनले वर्तमान सरकारबारे थप भने, ‘जसरी यो सरकार बन्ने अवस्थासम्म आयो । कतै कसैले यो मेरो चिन्ता मात्रै हो । मेरो निष्कर्ष र कसैमाथि आरोप होइन । त्यो ढंगले नलिइयोस् ।’

उनले वर्तमान सरकारमा रहेकाहरू असफल हुँदा नेपाल राष्ट्र नै असफल हुने खतरा रहेको बताए । ‘यसकारण यो सरकारलाई असफल हुने छुट छैन । तपाईंहरू असफल हुनुभयो भने तपाईंहरु मात्रै असफल नहुने, नेपाल राष्ट्र नै असफल हुन् खतरा छ ।’

सरकारको कामकारबाही नागरिकको विश्वास जित्ने गरी हुनुपर्ने पनि उनको आग्रह छ ।
प्रचण्डले भने जस्तै यो मुलुक असफल राष्ट्र त बन्दै छैन भन्ने चिन्ता सबैतिर बढ्दै गएको देखिन्छ । समस्यासँग भाग्ने नेतृत्वले राष्ट्रलाई बचाउन सक्तैन । अर्को कुरा लोकतन्त्रमा असलै काम पनि आफ्नो मनलाग्दी हिसाबले गर्न मिल्दैन । राज्य सञ्चालनका आफ्नै विधि र प्रक्रियाहरु छन् । एउटा प्रणालीलाई मानेर आएको नेतृत्वले एकलकाँटे तरिकाले काम गर्न मिल्दैन पनि । वर्तमान सरकारका सुरुदेखिका क्रियाकलापहरु यस्तै तरिकाले गैरहेका छन् । यो सरकारले भू राजनीतिक जटिलता र संवेदनशीलता पनि बुझेको जस्तो लाग्दैन । जुन आजको ज्वलन्त सवाल हो । आजको दुनियाँमा कुनै राष्ट्र एक्लै अघि जान सक्तैन ।  


 

विहीबार, १४ साउन २०८३, १४ : १६

प्रतिक्रिया