दाङ - दाङको आकासमा ठूला जहाज उडेको हेर्ने दङ्गालीका सपना अन्ततः ढिलै भए पनि पूरा हुने भएको छ ।
आर्थिक वर्ष २०८३/८४ मा सङ्घीय सरकारले तुलसीपुरको टरिगाउँ विमानस्थलको निर्माण पूरा गर्न रु २५ करोड बजेट विनियोजन गरेपछि उहाँहरुको सपना पूरा हुने विश्वास गरिएको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका–१२ स्थित टरिगाउँ विमानस्थल नेपालको पुरानो विमानस्थल हो । विमानस्थल विसं २०११ मा स्थापना भएको हो । अहिले नियमित उडान हुन सकेको छैन ।
विमानस्थलको लम्बाइ करिब ७५० मिटर छ । धावनमार्ग सानो भएका कारण अहिले ठूला विमान अवतरण हुन सक्दैनन् ।
तुलसीपुर उद्योग वाणिज्य सङघका पूर्वअध्यक्ष विनिल केसीले लामो समयदेखि प्राविधिक र बजेटका समस्याले विमानस्थल निर्माण पूरा हुन नसकेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “टरिगाउँ एयरपोर्ट केवल एउटा पूर्वाधार मात्र रहेन, यो स्थानीय राजनीतिको परीक्षाको केन्द्रसमेत बनेको छ । ”
सांसद कमल सुवेदीले टरिगाउँ विमानस्थल निर्माण पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
रासस
प्रतिक्रिया