समाचार

कप्तानगञ्ज घटनाको प्रभाव लहानसम्म, स्थिति नियन्त्रणमा लिन प्रहरीले गर्यो हवाई फायर

विहीबार, १४ साउन २०८३, १५ : १८

काठमाडौं– सुनसरीको कप्तानगञ्ज घटनाको प्रभाव सिरहाको लहान बजारसम्म पुगेको छ। बिहीबार दिउँसो घटनाको विरोधमा प्रदर्शन भएपछि लहानमा तनावपूर्ण अवस्था सिर्जना भएको हो।

प्रदर्शनका क्रममा झडप हुन सक्ने अवस्था देखिएपछि सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन केही राउन्ड हवाई फायर गरेका छन्।

जिल्ला प्रशासन कार्यालय, सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार अवस्था नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको हो। उनले लहान बजार क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको र आवश्यक परे कर्फ्यु आदेश जारी गर्ने तयारी भइरहेको जानकारी दिए।

यसअघि सिरहाको गोलबजार क्षेत्रमा पनि सुरक्षा अवस्था बिग्रिएपछि बिहीबार दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रशासनले सर्वसाधारणलाई अफवाहमा नलाग्न, शान्ति र सद्भाव कायम राख्न तथा सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेको छ।

विहीबार, १४ साउन २०८३, १५ : १८

प्रतिक्रिया