युवालाई डिजिटल अवसरसँग जोड्न राष्ट्रव्यापी सर्वेक्षण

विहीबार, १४ साउन २०८३, १६ : ३६

काठमाडौं- युवाहरुमाझ डिजिटल प्रविधिसँग जोडिएका चुनौतीबारे राष्ट्रव्यापी सर्वेक्षण शुरु भएको छ । युवा र प्रविधिका माध्यमबाट नवप्रवर्तनमा सक्रिय युथ इन्नोभेशन ल्याबले देशैभरका युवाहरुको डिजिटल अवसरको अवस्थाबारे तथ्यांक लिने उद्देश्यले राष्ट्रिय सर्वेक्षण शुरु गरेको हो ।

नेपाल युथ डिजिटल रेडिनेस सर्भे नाम दिइएको सर्भेमा १८ देखि ३५ वर्षसम्मका युवा सहभागी हुने छन् । सर्भेले युवाको डिजिटल सीप, रोजगार प्राप्तिको क्षमता तथा डिजिटल प्रविधिसँग सम्बन्धित अवसरहरु प्राप्तिमा उनीहरुले भोगेका समस्याबारे तथ्यांक संकलन गर्नेछ ।

देशैभरका सातै प्रदेशका युवामाझ सर्भे गरिनेछ । सरकारले डिजिटल नेपाल फ्रेमवर्क अघि बढाइरहेको र प्रविधिको विकास तथा रोजगारी र उद्यमशीलताका अवसर पनि बढिरहेका बेला युवाको अवसर प्राप्ति, तयारी तथा अवरोधहरुबारे सर्भेले आवश्यक जानकारी संकलन गर्नेछ, ल्याबका कार्यकारी निर्देशक प्रदीप खतिवडाले भने, यसले सरकार तथा गैरसरकारी क्षेत्र जोसुकैलाई आवश्यक जानकारी प्राप्ति र योजना तथा अवरोध हटाउन मद्दत गर्नेछ ।

देशैभरका शैक्षिक संस्थाहरु, युवा संस्था तथा फेलोहरुमार्फत ल्याबले अधिक युवा सहभागीताका लागि पहल गरिरहेको छ । सर्वेक्षणमा १८ देखि ३५ वर्षका जोसुकै युवाले दिइएको लिंकका माध्यमबाट सहभागीता जनाउन सक्ने ल्याबले जनाएको छ । ल्याबले डिजिटल प्रविधिमा आधारित भएर अवसरसँग जोड्न विभिन्न परियोजनामा काम गर्दै आइरहेको छ ।

विहीबार, १४ साउन २०८३, १६ : ३६

प्रतिक्रिया