पूर्वी नेपालको अशान्तिप्रति क्यान महासंघको चिन्ता, शान्ति र सहज व्यावसायिक वातावरण कायम गर्न अपिल

शनिबार, १६ साउन २०८३, ०९ : २४

काठमाडौं-  कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले पूर्वी नेपाल तथा तराईका विभिन्न क्षेत्रमा पछिल्लो समय देखिएको अशान्तिपूर्ण अवस्था, हिंसात्मक घटनाक्रम तथा त्यसबाट सर्वसाधारण र उद्योगी–व्यवसायीले भोग्नुपरेको असहज परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

शनिबार जारी प्रेस विज्ञप्तिमार्फत महासंघले विविधताभित्रको एकता, जातीय तथा धार्मिक सहिष्णुता, आपसी सद्भाव र भाइचारालाई नेपाली समाजको मौलिक पहिचान तथा राष्ट्रिय शक्तिका रूपमा उल्लेख गर्दै लोकतान्त्रिक व्यवस्थामा आफ्ना माग र असहमति शान्तिपूर्ण रूपमा व्यक्त गर्न पाउने संवैधानिक अधिकार भए पनि हिंसा, तोडफोड, आगजनी तथा सामाजिक सद्भाव खल्बल्याउने गतिविधि कुनै पनि अवस्थामा स्वीकार्य नहुने स्पष्ट पारेको छ ।

महासंघका अनुसार यस्ता हिंसात्मक घटनाले नागरिकको जिउधनको सुरक्षामा गम्भीर जोखिम सिर्जना गर्नुका साथै सूचना प्रविधि क्षेत्र, उद्योग–व्यवसाय, व्यावसायिक गतिविधि र समग्र राष्ट्रिय अर्थतन्त्रमा समेत नकारात्मक प्रभाव पार्नेछ ।

क्यान महासंघले सबै सम्बन्धित पक्षलाई हिंसा र अशान्तिको मार्ग त्यागी उच्च संयमता अपनाउन तथा लोकतान्त्रिक प्रक्रिया, संवाद र आपसी समझदारीमार्फत समस्याको शीघ्र समाधान खोज्न आग्रह गरेको छ ।

त्यसैगरी नेपाल सरकार तथा गृह प्रशासनलाई नागरिकको जिउधन, निजी तथा सार्वजनिक सम्पत्तिको सुरक्षा सुनिश्चित गर्दै सामान्य जनजीवन र व्यावसायिक वातावरण यथाशीघ्र सहज बनाउन आवश्यक कदम चाल्न माग गरेको छ ।

महासंघले सम्पूर्ण नागरिक, राजनीतिक दल, नागरिक समाज, व्यवसायी, पेशाकर्मी, युवा तथा सञ्चारकर्मीलाई जातीय, धार्मिक तथा सामाजिक सद्भाव र भाइचारा सुदृढ बनाउन आ–आफ्नो स्थानबाट सकारात्मक भूमिका निर्वाह गर्न समेत अपिल गरेको छ ।

प्रेस विज्ञप्तिको अन्त्यमा क्यान महासंघले देशमा स्थायी शान्ति, कानुनी शासन र अनुकूल व्यावसायिक वातावरण निर्माणका लागि आफू सधैं प्रतिबद्ध रहने प्रतिबद्धता पुनः व्यक्त गरेको छ ।
 

शनिबार, १६ साउन २०८३, ०९ : २४

प्रतिक्रिया