काठमाडौं- गृहमन्त्री सुधन गुरुङ र हिन्दू सम्राट सेना नेपालका प्रतिनिधिबीच आन्दोलनका मागहरूमा मौखिक समझदारी भएपछि संगठनले नेपाल बन्दसहितका सबै आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ।
आइतबार जनकपुरधाममा करिब डेढ घण्टा भएको वार्तापछि आन्दोलन स्थगित गर्ने निर्णय भएको हो। संगठनका अनुसार यसअघि पेस गरिएका १३ बुँदे मागमा थप संशोधनसहित नयाँ प्रस्ताव सरकारलाई बुझाइएको छ भने माग कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाउन उपयुक्त समयमा समिति गठन गर्ने समझदारी भएको छ।
वार्तापछि हिन्दू सम्राट सेना नेपालले देशमा धार्मिक सद्भाव र शान्ति कायम राख्न सहमतिलाई प्राथमिकता दिएको जनाएको छ। गृहमन्त्रीले पनि सबै धार्मिक समुदायको सुरक्षा सुनिश्चित गर्ने तथा कुनै पनि पर्व वा धार्मिक गतिविधिमा अवरोध हुन नदिने प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ।
प्रतिक्रिया