काठमाडौं- जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लाका साना नदीहरूमा आकस्मिक बाढीको जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाले जारी गरेको बाढी पूर्वानुमान बुलेटिनअनुसार काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक भएर बग्ने साना नदीहरूमा आज जलसतह उल्लेख्य रूपमा बढ्ने अनुमान गरिएको छ। यी क्षेत्रमा आकस्मिक बाढीको उच्च जोखिम रहेकाले नदी तटीय क्षेत्र र डुबान हुन सक्ने स्थानमा विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।
यस्तै ताप्लेजुङ, झापा, धनकुटा, संखुवासभा, सोलुखुम्बु, उदयपुर, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ र मकवानपुरका साना नदीहरूमा पनि बाढीको मध्यम जोखिम रहेको छ। गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा, पाल्पा, गुल्मी, चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका साना नदीहरूमा समेत जलसतह बढेर आकस्मिक बाढी आउन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
यद्यपि आज बिहानको मापनअनुसार देशका प्रमुख ठूला नदीहरूको बहाव भने सामान्य अवस्थामा रहेको छ। कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीहरूको जलसतह सतर्कता तहभन्दा तल रहेको छ। कन्काई, कमला, बबई, पूर्वी राप्ती तथा पश्चिम राप्ती नदीमा पनि हाल बाढीको जोखिम देखिएको छैन।
महाशाखाले भोलि पनि देशका सातै प्रदेशका केही साना नदीहरूमा वर्षाका कारण बहाव आकस्मिक रूपमा बढ्न सक्ने पूर्वानुमान गर्दै नदी किनार, खोल्साखोल्सी तथा डुबान हुने क्षेत्रमा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
प्रतिक्रिया