काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष राजेन्द्र कुमार शर्मा (आरके) ले संस्थाभित्र भएको बृहत एकतालाई व्यवहारमा उतार्न वर्तमान नेतृत्व गम्भीर हुनुपर्ने बताएका छन्। एकताका लागि भएका सहमति कार्यान्वयनमा देखिएको ढिलाइप्रति असन्तुष्टि जनाउँदै उनले नेतृत्वलाई विगतका प्रतिबद्धताअनुसार इमान्दारीपूर्वक अघि बढ्न आग्रह गरेका छन्।
संस्थापक अध्यक्ष, पूर्वअध्यक्षहरू, वर्तमान अध्यक्ष तथा तत्कालीन स्टेरिङ कमिटीका सदस्यहरूलाई सम्बोधन गर्दै शर्माले जारी गरेको सन्देशमा बृहत् एकताका क्रममा भएको दसबुँदे मूल सहमति तथा त्यसपछिका लिखित र मौखिक समझदारीहरू अपेक्षाअनुसार कार्यान्वयन हुन नसकेको उल्लेख गरेका छन्। सहमतिको भावना व्यवहारमा देखिन नसक्दा संस्थाभित्र अन्योल र असन्तुष्टि बढ्न सक्ने संकेत पनि उनले गरेका छन्।
शर्माले विशेषगरी गैरआवासीय नेपाली नागरिकताको प्रभावकारी कार्यान्वयन, वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या, विदेशमा रहेका नेपालीहरूको लगानी, अधिकार र हितसँग सम्बन्धित विषयहरू संस्थाको प्राथमिकताबाट क्रमशः ओझेलमा पर्दै गएको बताएका छन्। उनका अनुसार, विश्वभर रहेका गैरआवासीय नेपालीले संस्थाबाट अपेक्षा गरेका मुख्य एजेन्डाभन्दा आन्तरिक विषयले बढी स्थान पाउन थालेको अवस्था चिन्ताजनक छ।
उनले पूर्वअध्यक्ष बद्री केसी र महेश श्रेष्ठलाई एकताको मूल मर्म र विगतका सहमतिहरू कार्यान्वयन गर्न थप सक्रिय भूमिका खेल्न आग्रह गरेका छन्। त्यस्तै, अध्यक्ष डा. हेमराज शर्मालाई सम्पूर्ण पक्षको साझा नेतृत्वका रूपमा उभिँदै सबैलाई समेटेर संस्थालाई अघि बढाउन अनुरोध सङ्गै चेतावनी दिएका छन्।
शर्माले आफ्नो सन्देशमा एनआरएनए कुनै व्यक्ति, समूह वा गुटको संस्था नभई विश्वभर रहेका सम्पूर्ण गैरआवासीय नेपालीहरूको साझा संस्था भएको उल्लेख गरेका छन्। त्यसैले व्यक्तिगत सोचभन्दा संस्थागत सहमति र सामूहिक निर्णयलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिएका छन्।
उनले संस्थापक अध्यक्ष, पूर्वअध्यक्षहरू, वर्तमान नेतृत्व र तत्कालीन स्टेरिङ कमिटीका सदस्यहरूको सहभागितामा यथाशीघ्र विशेष बैठक बोलाउन आग्रह गर्दै सामाजिक सञ्जाल र सार्वजनिक मञ्चमा उठिरहेका प्रश्नहरूको जवाफ संस्थाभित्रै गम्भीर छलफलबाट खोजिनुपर्ने बताएका छन्। उनका अनुसार, साझा धारणा निर्माण गरेर मात्रै संस्थाप्रति बढ्दै गएको जिज्ञासा र अन्योल अन्त्य गर्न सकिन्छ।
पूर्वअध्यक्ष शर्माले अध्यक्ष डा. शर्माले तत्काल बैठक बोलाई विगतका सहमति, वर्तमान अवस्था र आगामी कार्यदिशाबारे स्पष्ट तथा जिम्मेवार छलफलको वातावरण बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्। संस्थालाई एकताबद्ध, प्रभावकारी र परिणाममुखी बनाउने दायित्व सम्पूर्ण नेतृत्वको भएको उनको भनाइ छ।
एनआरएनए विगतमा नेतृत्वबीचको विवाद, अविश्वास र आन्तरिक द्वन्द्वका कारण लामो समय विभाजित बनेको थियो। निकै लामो प्रयासपछि विभिन्न पक्षबीच सहमति जुट्दै एकताको प्रक्रिया अघि बढेर अन्तिम अवस्थामा पुगेकोले त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न नसकिए संस्था पुनः पुरानै अवस्थातर्फ फर्किन सक्ने चिन्ता पनि देखिन थालेको छ।
पूर्वअध्यक्ष शर्माको पछिल्लो अभिव्यक्तिलाई वर्तमान नेतृत्वलाई विगतका प्रतिबद्धता कार्यान्वयन गर्न गरिएको गम्भीर राजनीतिक सन्देशका रूपमा हेरिएको छ। उनले प्रत्यक्ष रूपमा कसैमाथि आरोप नलगाए पनि सहमति कार्यान्वयनमा देखिएको सुस्तता अन्त्य गरी संस्थालाई गैरआवासीय नेपालीहरूको साझा हित र अधिकारका मुद्दामा केन्द्रित गर्नुपर्ने स्पष्ट सन्देश दिएका छन्।
प्रतिक्रिया