सहमति कार्यान्वयन नभए फेरि आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी

सोमबार, १८ साउन २०८३, १६ : ४६

काठमाडौं- नेपाल शिक्षक महासंघले सरकारसँग भएको सहमति कार्यान्वयन नभए पुनः आन्दोलनमा उत्रने चेतावनी दिएको छ।

महासंघको साउन १६ र १७ गते बसेको परिषद् बैठकले विगतका सहमति कार्यान्वयन नभए भदौ महिनादेखि आन्दोलन सुरु गर्ने निर्णय गरेको हो।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सरकारले शिक्षकहरूसँग गरेको प्रतिबद्धता पूरा नगरे विगतको भन्दा अझ व्यापक सहभागितासहित सडक आन्दोलन गर्ने चेतावनी दिएका छन्।

शिक्षा नियमावलीप्रति असन्तुष्टि व्यक्त गर्दै अध्यक्ष सुवेदीले सरकारसँग थप छलफलपछि आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने बताए। “थप छलफल गरेर आन्दोलनका कार्यक्रम सार्वजनिक गर्छौँ,” उनले भने।

शिक्षकहरूले २०८१ चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका थिए। उक्त आन्दोलन २९ दिनसम्म चलेपछि २०८२ वैशाख १७ गते सरकार र नेपाल शिक्षक महासंघबीच नौबुँदे सहमति भएको थियो।

तर, सहमति भएको एक वर्षभन्दा बढी समय बितिसक्दा पनि सरकारले सहमतिअनुसार शिक्षा ऐन जारी नगरेको भन्दै महासंघले पुनः आन्दोलनको तयारी थालेको जनाएको छ।

सोमबार, १८ साउन २०८३, १६ : ४६

प्रतिक्रिया