समाचार

आर्थिक सुधार सफल बनाउन राष्ट्र बैंकको भूमिका बदल्नुपर्नेमा अर्थमन्त्री वाग्लेको जोड

बुधबार, २० साउन २०८३, ११ : १८

काठमाडौं- अर्थमन्त्री डा. स्वार्णिम वाग्लेले आर्थिक सुधार र संरचनागत रूपान्तरणको अभियान सफल बनाउन नेपाल राष्ट्र बैंकले आफ्नो भूमिका समयअनुकूल पुनर्परिभाषित गर्नुपर्ने बताएका छन्।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँगको छलफलमा उनले निजी क्षेत्र अहिले नवीन अवसरसँगै नीतिगत आत्मविश्वासको खोजीमा रहेको उल्लेख गर्दै व्यवसायीहरूले सहुलियतभन्दा स्पष्ट नीति, स्थिर नियम, छिटो निर्णय र विश्वसनीय कार्यान्वयनको अपेक्षा गरेको बताए।

अर्थमन्त्री वाग्लेले पछिल्लो एक दशकका आर्थिक नीति तथा तिनको कार्यान्वयनको गम्भीर समीक्षा आवश्यक रहेको उल्लेख गर्दै नीतिगत निर्णयहरू अपेक्षित परिणाममा किन रूपान्तरण हुन सकेनन् भन्ने विषयमा गहन विश्लेषण गर्नुपर्ने धारणा राखे।

उनले निजी क्षेत्र किन प्रतिरक्षात्मक बन्दै गएको, लगानीकर्ताको आत्मविश्वास किन कमजोर भएको तथा बैंकिङ प्रणालीमा पर्याप्त तरलता हुँदाहुँदै पनि उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह किन बढ्न नसकेको भन्ने विषयमा गम्भीर समीक्षा गर्नुपर्ने बताए।

चालु आर्थिक वर्षको बजेटलाई उनले सामान्य वार्षिक बजेट नभई आर्थिक सुधार र संरचनागत रूपान्तरणको स्पष्ट मार्गचित्रका रूपमा व्याख्या गर्दै त्यसको सफल कार्यान्वयनका लागि नेपाल राष्ट्र बैंकको नीतिगत भूमिका महत्त्वपूर्ण हुने बताए।

“हामी समस्या समाधान गर्ने नियामक हौँ कि समस्या व्यवस्थापन गर्ने नियामक मात्र?” भन्ने प्रश्न उठाउँदै उनले वर्तमान आर्थिक अवस्थालाई जोखिम व्यवस्थापनको दृष्टिले मात्र नभई अवसर सिर्जनाको दृष्टिले पनि हेर्नुपर्नेमा जोड दिए।

छलफलका क्रममा अर्थमन्त्रीले उत्पादनमुखी क्षेत्रमा कर्जा प्रवाह विस्तार गर्ने उपाय, बैंकिङ प्रणालीमा रहेको अधिक तरलतालाई उद्योग, उत्पादन र रोजगारीमा रूपान्तरण गर्ने रणनीति, पूँजी बजार, रियल इस्टेट, बैंकिङ प्रणाली र वास्तविक अर्थतन्त्रबीच सन्तुलित सम्बन्ध विकास गर्ने विषयमा सुझाव मागे।

त्यस्तै, मौद्रिक नीति र वित्तीय नीतिबीच प्रभावकारी समन्वय, डिजिटल वित्त, फिनटेक, वैकल्पिक वित्त, स्टार्टअप वित्तपोषण तथा नयाँ वित्तीय उपकरणको विकासलाई सहज बनाउने विषयमा पनि उनले खुला छलफलको आवश्यकता औँल्याए।

उनले नियमनको उद्देश्य केवल नियन्त्रणमा सीमित नरही उत्पादनशील आर्थिक गतिविधि र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने दिशामा केन्द्रित हुनुपर्ने उल्लेख गर्दै नियमनले नवप्रवर्तनलाई रोकिरहेको छ वा प्रवर्द्धन गरिरहेको छ भन्ने विषयमा गम्भीर समीक्षा आवश्यक रहेको बताए।

अर्थमन्त्री वाग्लेले नीतिगत आत्मविश्वास नै अहिले नेपालको प्रमुख आवश्यकता भएको उल्लेख गर्दै सरकार, नेपाल राष्ट्र बैंक, बैंकिङ क्षेत्र र निजी क्षेत्रबीच स्पष्टता, समन्वय र विश्वास कायम भए आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सहज हुने विश्वास व्यक्त गरे।

उनले सरकारले आर्थिक सुधारका लागि आवश्यक कानुनी संशोधन, संस्थागत सुधार र कार्यान्वयनलाई तीव्रता दिइरहेको जानकारी दिँदै मौद्रिक क्षेत्रबाट पनि समान प्रतिबद्धता, स्पष्टता र गति अपेक्षा गरिएको बताए।

नेपाल राष्ट्र बैंकलाई केवल नियामक संस्थाका रूपमा नभई नेपालको आर्थिक रूपान्तरणको सहयात्री र सहनिर्माताका रूपमा हेर्न चाहेको उल्लेख गर्दै उनले छलफलबाट प्राप्त सुझावलाई कार्ययोजनामा रूपान्तरण गरिने बताए। आवश्यक परे संयुक्त कार्यदल गठन, नीतिगत समन्वयलाई संस्थागत गर्ने तथा निर्णय प्रक्रियालाई थप छरितो बनाउने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

बुधबार, २० साउन २०८३, ११ : १८

प्रतिक्रिया