काठमाडौं - कुनै पनि मुलुकको अर्थव्यवस्था कस्तो हुने वा कसरी सञ्चालन हुने भन्ने कुरामा केन्द्रीय बैंकको भूमिका महत्वपूर्ण हुने गर्दछ । त्यसमा अर्थमन्त्रीको नेतृत्व झनै अर्थपूर्ण हुने गर्दछ । नेपालको अर्थप्रशासनले यस्ता खालका टकराव र अन्तरबिरोध सामना गर्दै आएको छ । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर महाप्रसाद अधिकारीको तीक्ततापूर्ण सम्बन्धको असर छताछुल्ल हुने गरी देखिएको थियो । अहिले पनि त्यस्तो अवस्थाको सिर्जना भएको अनुभूति भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र गभर्नर डा. विश्व पौडेलकाबीच बढेको मनमुटावको असर राष्ट्रबैंकमा देख्न थालिएको छ । उनीहरु पहिले एउटौ पार्टीका नेता हुन । वाग्ले नेपाली कांग्रेसको छत्रछायाँमा हुर्केका हुन भने पौडेल कांग्रेसबाट प्रतिनिधिसभाको उम्मेदवार नै बनेका व्यक्ति हुन् ।
अर्थमन्त्री वाग्लेले अर्थप्रशासनमा आफ्नो पकड कायम राख्न मन्त्रालयमा ‘क’ वर्गका सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग भेट गरेका छन् । उनले उद्यमीहरुको विश्वास निर्माण गर्ने, लगानी विस्तार गर्ने, उत्पादन बढाउने विषयमा छलफल गरेको बताइएको छ । तर उत्पादन, लगानी, बचत, वित्तीय विश्वास र आर्थिक गतिविधिको केन्द्रमा बैंकिङ प्रणालीबारे जानकारी दिइएको भेटमा स्वयम् नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेल र डेपुटी गभर्नर किरण पण्डित अनुपस्थित थिए ।
पछिल्लो समय गभर्नर पौडेल प्रधानमन्त्री बालेन्द्र शाहसँग नजिकिएको खबरहरु बाहिरिएका छन् । पहिले वाग्ले र पौडेल दुबै नेपाली काँग्रेसमा रहँदा देखिएको व्यक्तिगत मतभेदका कारण अर्थमन्त्रीसँग गभर्नरको सम्बन्ध सुमधुर नरहेको धेरैको आकलन थियो । पछिल्लो समय उनीहरुबीच विभिन्न विषयमा स्पष्टसँग फाटो देखिएको बैंकर र कर्मचारीहरुले समेत महशुस गरेका छन् ।
कानुनतः अर्थ मन्त्रालय र केन्द्रीय बैंक, अर्थमन्त्री र राष्ट्र बैंकबीचको प्रत्यक्ष सम्बन्ध, सम्पर्क मन्त्री र गभर्नरबीच हुन्छ । अन्य सम्बन्ध प्रशासनिक र प्रक्रियागतभित्र पर्ने एकजना पूर्व गभर्नरले बताए ।
मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन अर्थमन्त्री र गभर्नरबीच सुमधुर सम्बन्ध रहनु अति आवश्यक कुरा हो । यी दुई पदाधिकारीबीचको सम्बन्ध ठिक नभएको अवस्थामा अर्थ प्रशासन नै चुस्त बन्न सक्तैन ।
प्रतिक्रिया