नेप्सेमा थपिए दुई नयाँ म्युचुअल फण्ड, साउन २१ देखि कारोबार हुने

बुधबार, २० साउन २०८३, १५ : ०८

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई नयाँ सामूहिक लगानी कोष (म्युचुअल फण्ड) का इकाई सूचीकृत भएका छन्। नेप्सेले सानिमा क्यापिटल लिमिटेड र लक्ष्मी सनराइज क्यापिटल लिमिटेडद्वारा व्यवस्थापन गरिएका दुई फण्ड सूचीकरण गरेको हो।

नेप्से र सानिमा क्यापिटल लिमिटेडबीच ‘सानिमा इक्विटी फण्ड–२ (SAEF2)’ का १२ करोड ५० लाख इकाई सूचीकरण सम्झौता भएको छ। प्रति इकाई १० रुपैयाँ अंकित तथा चुक्ता मूल्य रहेको उक्त फण्डका सबै इकाई सर्वसाधारणलाई वितरण भएपछि नेप्सेमा सूचीकृत गरिएको हो।

त्यसैगरी, नेप्से र लक्ष्मी सनराइज क्यापिटल लिमिटेडबीच ‘एलएस होराइजन १२ (LSH12)’ का १५ करोड इकाई सूचीकरण सम्झौता भएको छ। यस फण्डका सर्वसाधारणलाई निष्काशन गरिएका सबै इकाई वितरण सम्पन्न भएपछि नेप्सेमा सूचीकरण गरिएको जनाएको छ।

नेप्सेका अनुसार दुवै फण्डको सूचीकरण निर्णय साउन १८ गते गरिएको हो। अब साउन २१ गतेदेखि यी दुवै म्युचुअल फण्डका इकाईहरूको दोस्रो बजारमा कारोबार सुरु हुनेछ।

सानिमा इक्विटी फण्ड–२ को रजिस्ट्रार टु सेयर (आरटीएस) सेवा सानिमा क्यापिटलले उपलब्ध गराउनेछ भने एलएस होराइजन १२ को आरटीएस सेवा लक्ष्मी सनराइज क्यापिटलले प्रदान गर्नेछ।

दुई नयाँ म्युचुअल फण्ड सूचीकृत भएसँगै लगानीकर्ताले अब यी फण्डका इकाईहरू नेप्सेको दोस्रो बजारमार्फत खरिद–बिक्री गर्न सक्ने भएका छन्।

बुधबार, २० साउन २०८३, १५ : ०८

प्रतिक्रिया