काठमाडौं- नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचन नजिकिँदै जाँदा अध्यक्षका उम्मेदवार भरतजंग पाण्डे नेतृत्वको प्यानलबाट कार्यसमिति सदस्यका उम्मेदवार दिनेश मैनाली पर्यटन व्यवसायीमाझ चर्चामा आएका छन्। पर्यटन क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएको अनुभव र स्पष्ट कार्ययोजनाका कारण उनको उम्मेदवारीलाई महत्वका साथ हेरिएको छ।
शुभम् ट्राभल्स एन्ड टुर्स मार्फत विगत एक दशकदेखि पर्यटन व्यवसायमा सक्रिय मैनालीले नाट्टाभित्र नीतिगत सुधार, व्यवसायीको हकहित संरक्षण तथा संस्थालाई थप प्रभावकारी बनाउने लक्ष्यसहित उम्मेदवारी दिएको बताएका छन्।
काभ्रेको नमोबुद्ध नगरपालिका–५ का स्थायी बासिन्दा मैनालीले पर्यटन क्षेत्रमा देखिएका समस्या समाधानका लागि संस्थागत पहल आवश्यक रहेको उल्लेख गर्दै युवा व्यवसायीको आवाज नेतृत्व तहसम्म पुर्याउने आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले पर्यटन उद्योगलाई समयानुकूल, प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउन नाट्टाले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिएका छन्। साथै व्यवसायीका साझा मुद्दालाई प्राथमिकतामा राखेर काम गर्ने आफ्नो योजना रहेको बताएका छन्।
_BQxfCR7PSX.jpg)
भरतजंग पाण्डे नेतृत्वको प्यानलमा वरिष्ठ उपाध्यक्षमा सुनिल शर्मा र उपाध्यक्षमा सबिता केसी भट्टराई लगायत अनुभवी पर्यटन व्यवसायीहरू उम्मेदवार रहेका छन्। प्यानलले अनुभवी नेतृत्व र युवा व्यवसायीको सहभागिताले संस्थालाई थप सशक्त र परिणाममुखी बनाउने विश्वास व्यक्त गरेको छ।
आगामी अगस्ट १४ मा हुने नाट्टा निर्वाचनमा भरतजंग पाण्डे नेतृत्वको टोलीले स्पष्ट कार्ययोजना, संस्थागत सुधार र व्यवसायीको हितलाई मुख्य एजेन्डा बनाउँदै मत मागिरहेको जनाएको छ।
प्रतिक्रिया