जीवन बीमा बजार विस्तार

जीवन बीमा कम्पनीले एक वर्षमै संकलन गर्यो १ खर्ब ५० अर्बभन्दा बढी नवीकरण शुल्क, कुनको कति ?

विहीबार, २१ साउन २०८३, १६ : ४१

काठमाडौं- नेपालमा सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ मा बीमालेख नवीकरणबाट १ खर्ब ५० अर्ब ६१ करोड ५७ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ९.३६ प्रतिशत बढी हो।

नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा जीवन बीमा कम्पनीहरूले नवीकरण बीमा शुल्कबापत १ खर्ब ३७ अर्ब ७३ करोड २ लाख रुपैयाँ संकलन गरेका थिए। एक वर्षमै नवीकरण शुल्कमा उल्लेख्य वृद्धि देखिएको हो।

नवीकरण बीमा शुल्क संकलनमा नेपाल लाइफ इन्स्योरेन्स सबैभन्दा अगाडि रहेको छ। कम्पनीले गत आर्थिक वर्ष ४० अर्ब ६० करोड ९२ लाख रुपैयाँ संकलन गरेको छ। अघिल्लो वर्षको ३७ अर्ब २९ करोड ५० लाख रुपैयाँको तुलनामा यो ८.८९ प्रतिशत बढी हो।

दोस्रो स्थानमा रहेको नेसनल लाइफ इन्स्योरेन्सले १७ अर्ब ७४ करोड ५ लाख रुपैयाँ नवीकरण शुल्क संकलन गरेको छ। अघिल्लो वर्षको तुलनामा यसको संकलन ८.३१ प्रतिशतले बढेको छ। लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) १७ अर्ब ६९ करोड ६६ लाख रुपैयाँ नवीकरण शुल्कसहित तेस्रो स्थानमा रहेको छ। कम्पनीको नवीकरण शुल्क अघिल्लो वर्षको तुलनामा ४.७९ प्रतिशतले वृद्धि भएको छ।

त्यसैगरी हिमालयन लाइफ इन्स्योरेन्सले १५ अर्ब ६२ करोड ७९ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ९ अर्ब १६ करोड ११ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ८ अर्ब ८४ करोड २८ लाख रुपैयाँ, एसियन लाइफले ७ अर्ब ७२ करोड ५८ लाख रुपैयाँ तथा सिटिजन्स लाइफले ६ अर्ब ६ करोड १२ लाख रुपैयाँ नवीकरण बीमा शुल्क संकलन गरेका छन्।

यस्तै सानिमा रिलायन्स लाइफले ५ अर्ब ६५ करोड ८९ लाख रुपैयाँ, मेटलाइफले ५ अर्ब २१ करोड ९१ लाख रुपैयाँ, आइएमई लाइफले ४ अर्ब ६७ करोड ९९ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ४ अर्ब १८ करोड ४९ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ४ अर्ब १४ करोड ७० लाख रुपैयाँ र सन नेपाल लाइफले ३ अर्ब २६ करोड ३ लाख रुपैयाँ नवीकरण बीमा शुल्क संकलन गरेका छन्।

नेपाल बीमा प्राधिकरणका अनुसार नवीकरण बीमा शुल्कमा आएको वृद्धि जीवन बीमा बजार विस्तार, बीमितको नवीकरण दरमा सुधार तथा बीमा कम्पनीहरूको ग्राहक व्यवस्थापन प्रभावकारी बन्दै गएको संकेतका रूपमा हेरिएको छ।

विहीबार, २१ साउन २०८३, १६ : ४१

प्रतिक्रिया